डुबानबाट सुदूरपश्चिममा तीन हजार परिवार प्रभावित
कैलाली, २५ साउन । कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि झण्डै तीन हजार चार सय घरधुरी डुबानको समस्याले प्रभावित भएका छन् ।
डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ । डुबानले घरभित्र पानीपस्दा खाद्याह्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेका व्यक्तिलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।
वर्षासँगै मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ । बुधबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीको नेतृत्वको एक टोलीले डुबान प्रभावित क्षेत्रको अवलोकन गरी डुबानबाट पुगेको क्षतिबारे जानकारी लिएको छ ।
बाढी र डुबानको समस्या बढ्दै गएपछि कैलाली जिल्लामा निर्माण भएको पूर्व–पश्चिम हुलाकी राजमार्ग स्थानीयवासीको सुरक्षित वासस्थान बन्न थालेको छ । जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा स्थानीयवासीको ‘सेल्टर’ बन्न थालेको हो ।
डुबानको जोखिमबाट जोगिन स्थानीयवासी यो राजमार्ग छेउमा त्रिपालको टहरा बनाएर बस्न थालेका छन् । “वर्षा हुनासाथ स्थानीयवासी त्रासमा बस्ने गरेका छन्”, स्थानीय शिवलाल चौधरीले भन्नुभयो, “नदीको बहाव बस्तीमा पस्ने खतरा देखिँदा स्थानीयवासी राजमार्गलाई आफ्नो सेल्टर बनाउन विवश भएका छन् ।”
बर्सेनि नदीको सतहमा गेग्रान, माटो, ढुङ्गा, बालुवाले सतह पुरिँदै जाँदा नदी तथा खोलाको सतह बढेर डुबानको समस्या बढ्दै गएको स्थानीयको भनाइ छ । डुबानको समस्या बर्सेनि बढ्दै जाँदा दशकौँअघिदेखिका कतिपय पुराना बस्तीनै स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।
नदीको बहाव बढेर हुने कटानले कतिपय ठाउँको हुलाकी राजमार्ग र अन्य सडकसमेत कटान हुने गरेको छ । वर्षासँगै गएको पहिरोले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा यातायात आवागमन सोमबार रातिदेखि अवरुद्ध छ । राजमार्गको बूढीतोला खानीडाँडा सडकखण्ड भासिएको छ भने ठाउँ ठाउँमा पहिरो गएको छ ।