महानगरकाे कथा बाेकेकाे गायक यश कुमार ‘सुस्तरी सुस्तरी’
काठमाडाैं, २५ साउन । गायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ बजारमा आएकाे छ । गायक स्वयंकाे शब्द रचनामा संगीत पनि उनले नै भरेका छन् ।
‘आहा सुस्तरी सुस्तरी यो मन फसेछ
नबोली नबोली माया बसेछ’
गीतमा यशलाई अनु चौधरीले गायनमा साथ दिएकी छन् भने एरेन्ज एसके बच्चाले गरेका छन् । गीतको भिडियोमा सडकमा मकै पोलेर बेचेर गुजारा गर्ने युवती र नगरप्रहरी जवानबीचको प्रेम सम्बन्धको कथालाई उनिएको छ ।
जसमा यश कुमार र अनु थापाले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्म भनिएको यो गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाले पनि अभिनय गरेका छन् ।
भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ ।
यश कुमारकै कथा रहेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । गीतलाई ‘यश कुमार अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।