अनुसन्धानमा गरेको ढिलासुस्तीले सुन तस्करीमा सरकारको संलग्नता पुष्टि हुँदैछः एमाले

काठमाडौं, २९ साउन । नेकपा (एमाले) को सचिवालय बैठकले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकारको संलग्नताको पुष्टि बलियो बन्दै गएको निष्कर्ष निकालेको छ । आज एमाले मुख्यालय च्यासलमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘सुन तस्करी र त्यसबाट उत्पन्न जटिल परिस्थितिका बारेमा एमालेले आजको बैठकमा छलफल गरेको छ,’ बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘साउन २ गते बरामद भएको सुन र यससँग जोडिएका अनेकौं तथ्यले मुलुकलाई अप्ठ्यारो अवस्थामा धकेलेको विषयमा छलफल भयो ।’

बैठकमा उच्चस्तरीय न्यायिक समिति बन्नु अनिवार्य छ भन्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । ‘किनभने जति समिति बनाउन ढिला हुन्छ त्यति नै प्रमाणहरु नष्ट हुँदै गएका छन् । सीआईबीले गोदाममा अनुसन्धान गर्दा कारखाना भेटिएको छ सुन भेटिदैँन,’ ज्ञवालीले भन्नुभयो, ‘सुन तस्करीमा संलग्नहरु विदेश भाग्ने गरेका छन् । त्यसैले जतिसक्दो छिटो न्यायिक छानविन समिति बनाएर यसको जरैसम्म पुगेर निर्मुल गर्नुपर्छ ।’

त्यसो नगर्ने हो भने नेपाललाई ट्रान्जिट बनाएर गरिने सुन तस्करीले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती र अन्तर्राष्ट्रिय छवि धुमिल हुने खतरा बढी हुने उहाँले बताउनुभयो । ‘प्रतिपक्षको आवाजलाई दवाएर अनुसन्धानमा आलटाल गर्ने सरकारको रणनीतिले पनि सरकारको संलग्नतालाई थप पुष्टि गर्दै लगेको छ,’ ज्ञवालीले भन्नुभयो, ‘ज्ञवालीले सरकारको गलत प्रक्रियाका बारेमा आवाज उठाउँदा सांसदलाई पक्राउ गर्ने रणनीतिको गलत भयो भन्ने बैठकको ठहर छ ।’