काठमाडौं, ६ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारमै गएर अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङतर्फ स्नातक तहको शुल्क बढाएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
अवैज्ञानिक र अव्यवहारिक शुल्क वृद्धि अविलम्ब फिर्ता लिन माग मन्त्री राइको ध्यानाकर्षण गराएको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले चार वर्षे स्नातक तहको शुल्क एकैपटक ३ लाखबाट बढाएर ७ लाख पुर्याएपछि अनेरास्ववियु आन्दोलित बनेको हो ।
विश्वविद्यालयहरु दिनप्रतिदिन कमजोर हुँदै जाने तर शुल्क निरन्तर वृद्धि हुने विकराल परिस्थितिको अन्त्यका लागि ध्यानाकर्षण गराएको राकोयको भनाई छ । ‘इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रूपैयाँ कायम गरिएको छ । त्यसैगरी पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्याइएको छ,’ सचिव रोकायले भन्नुभयो, ‘सर्वसुलभ रुपमा गरीब जेहेन्दार विद्यार्थीहरुको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्नतर्फ केन्द्रित रहेको पुष्टि भएपछि हामीले ध्यानाकर्षण गराएका हौँ ।’
विद्यार्थीको हकहितमा राज्य मुकदर्शक बनेको पनि अनेरास्ववियुको आरोप छ । भर्नाको अवसर छोपी भारी मात्रामा शुल्क वृद्धि गर्ने उक्त निर्णयलाई नमान्ने अनेरास्ववियुको चेतावनी छ । अनेरास्ववियुले शुल्क वृद्धिविरुद्ध सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिएको छ ।
निर्धारित समयमा परीक्षा लिन, तोकिएकै मितिमा नजिता प्रकाशन गर्न तथा शैक्षिक क्यालेण्डर लागु गर्दै विश्वविद्यालयको गुणस्तरियतामा थप अग्रसरता लिन समेत अनेरास्ववियुले अपिल गरेको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसमा केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस छन् ।