आज क्वाति खाएर पर्व मनाउने दिन गुंपुन्हि

काठमाडौं, १४ भदौ । आज जनै पूर्णिमा । नेवाः समाजमा आजको दिनलाई गुंपुन्हिका रुपमा मनाउने गरिन्छ । आजको दिन विशेष गरी क्वाति खाने गरिन्छ । क्वाति खाने पूर्णिमा भएकोले आजको दिनलाई क्वाति पुन्हि पनि भन्ने गरिन्छ ।

स्थानीय नेपालभाषामा ‘क्वाः’ को अर्थ ‘तातो’ हुन्छ भने ‘ति’ को अर्थ ‘झोल’ हुन्छ । ‘क्वा’ र ‘ति’ मिलेर ‘क्वाति’ शब्द बनेको छ । खस नेपाली भाषा बोल्नेहरूको जिब्रोले यसलाई ‘क्वाति’ नभनी ‘क्वाँटी’ उच्चारण गरेको पाइन्छ । शब्दको अर्थ पहिल्याउँदा ‘क्वाँटी’ ले कुनै भाव दिएको पाइँदैन जति कि ‘क्वाति’ शब्दले दिने गर्छ ।

श्रावण–भदौ महिनामा निरन्तर झरी परिरहेको हुन्छ । झरीले गर्दा शरीर चिसो हुने र यसले अन्य रोग पनि निम्त्याउन सक्ने भएकोले शरीरलाई तातो बनाई पोषिलो पदार्थ सेवन गर्नुपर्ने हुन्छ । मौसमको यही अवस्थालाई ध्यानमा राखी हाम्रा पुर्खाहरुले गुंपुन्हिका दिन क्वाति खाने पर्व बसाएको देखिन्छ ।

क्वातिमा विशेष गरी नौ प्रकारका गेडागुडी राख्ने गरिन्छ । ती हुन्ः भटमास, मास, सानो केराउ, ठूलो केराउ, सिम्पु, बोडी, चना, मुंगी र बकुला । यी नौ प्रकारका गेडागुडीलाई आवश्यक मरमसला राखी एकै ठाउँमा पकाएपछि बन्ने परिकार नै क्वाति हो ।

खास गरी यो क्वाति आज पकाइने भए पनि यसलाई भिजाएर तयारी अवस्थामा राख्ने काम भने चार दिन अघि नै गरिन्छ । गुंपुन्हिको चार दिन अघि काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीमा चाँगुनारायणको कलश यात्रा चलाउने गरिन्छ । उक्त दिन चाँगुनारायण पनि क्वाति माग्नका लागि तलेजु भवानी समक्ष दर्शन गर्न आएको भन्ने गरिन्छ ।

चाँगुनारायण क्वाति ग्रहण गरी फर्केपछि त्यही दिन काठमाडौंमा क्वाति भिजाएर राख्ने गरिन्छ । चार दिनपछि क्वातिमा टुसा पलाउन थाल्छ । सो टुसा सहितको क्वाति नै पकाउने गरिन्छ ।

सोही क्वातिको झोलमा पीठोको रोटी पकाएर पनि राख्ने गरिन्छ र क्वाति सँगै त्यो पनि खाने गरिन्छ । अहिले त्यसमा ममः राखेर पनि खाने गरिएको पाइन्छ ।

यस्तो क्वातिको झोल अत्यन्त प्रोटिनयुक्त हुन्छ । यसले शरीरलाई तातो राख्नुका साथै प्रशस्त मात्रामा तागत पनि प्रदान गर्छ । अहिले विरामीलाई पनि तागतको लागि क्वाति खुवाउने गरेको पाइन्छ ।