रसुवा र नुवाकोटमा ठूलो बाढी आउने हल्ला निराधार, आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह

 

काठमाडौँ, ११ भदौ । रसुवा र नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै सत्यता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको महाशाखाले एक विज्ञप्ति जारी गर्दै उक्त हल्लाको आधिकारिकता नभएको पुष्टि गरेको हो।

महाशाखाका अनुसार हालसम्मको मौसमी विश्लेषण र प्राप्त सूचनाका आधारमा सो क्षेत्रमा थप विनाशकारी बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। “नदीको बहाव र वर्षाको प्रारम्भिक विश्लेषण गर्दा तत्काल ठूलो बाढीको सम्भावना देखिँदैन,” महाशाखाले भनेको छ, “त्यसैले अपुष्ट सूचना र हल्लाको पछि नलागी संयमित रहन सर्वसाधारणमा अनुरोध गरिन्छ।”

उक्त क्षेत्रमा वर्षा जारी रहेका कारण नदीको बहावमा केही उतारचढाव आउन सक्ने भए पनि त्यसले ठूलो क्षति पुर्‍याउने अवस्था नरहेको महाशाखाको भनाइ छ। महाशाखाले नियमित रूपमा नदीको जलस्तर अनुगमन गरिरहेको र कुनै पनि जोखिमपूर्ण अवस्था देखिएमा तत्काल जानकारी गराइने स्पष्ट पारेको छ।

यदि नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने जोखिम देखिएमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी तत्कालै सूचना प्रवाह गरिने महाशाखाले जनाएको छ। यस्तो परिस्थितिमा नागरिकहरूलाई ‘एसएमएस’ र अन्य सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रदान गरिनेछ।

महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा सामाजिक सञ्जालमा आउने हल्लाभन्दा पनि आधिकारिक स्रोत र सरकारी बुलेटिनलाई मात्र आधार मान्न तथा आवश्यक पूर्वसावधानी अपनाउन सबैमा आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *