सीका विश्वासपात्र जियाजुनले एमाले महासचिवसँग भन्नुभयोः ओलीलाई राष्ट्रवादी नेता पाए
चाइनां, छोङछिङ, १९ भदौ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनविच आज भेटर्वार्ता भएको छ । छोङछिङ सहरको ठूलो र शक्तिशाली सहर हो । तीन करोड १० लाख जनसंख्या भएको सरहर छोङछिङ कमिटीका सचिव समेत रहनु भएका जियाजुन र महासचिव पोखरेलविच छोङछिङमा भेटर्वार्ता भएको हो ।
जियाजुन सीपीसीको सन् २०२२ मा भएको २० औं जनकंग्रेसले पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको हो । उहाँ त्यसअघि सीपीसीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।उहाँ राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्रका रुपमा चिनिनुहुन्छ। भेटको क्रममा पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनविचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताउनुभयो । नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं,’ उहाँले भन्नुभयो ।
केपी ओली राष्ट्रवादी नेताको रुपमा पाएँः जियाजुन
नेता जियाजुनले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीविचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भविष्यमा पनि दुई पार्टीविच ज्ञान, अनुभव र विचार आदनप्रदान जारी राख्नु पर्ने बताउनुभयो ।
नेता जियाजुनले गत साउन ७ देखि ९ गतेसम्म नेपाल भ्रमणको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटबारे उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक राष्ट्रवादी नेताको रुपमा पाएको स्मरण गराउनुभयो । गत साउनमा आफ्नो नेपाल भ्रमणको क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तिव्र चाहना भएको पाएको उल्लेख गर्दै जियाजुनले नेपालको बिकासमा सहयोगको लागि चीन तत्पर रहेको बताउनुभयो ।
आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरिविच असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसको लागि छोङछिङको सफल अनुभव रहेको बताउनुभयो ।
उहाँले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासको लागि महत्वपूर्ण हुने भन्दै नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले दक्षिण एशियाको गरिबी निवारणको लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिको लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
धान उत्पादनको लागि छोङछिङ प्रसिद्ध रहेको बताउदै उहाँले नेपालको कृषिकाृ आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले कृषि बैज्ञानिक प्रयोगशाला बनाएर आधुनिक कृषिमा नेपाललाइ लैजान सहयोग गर्न इच्छुक रहेको पनि बताउनुभयो।
कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अबसर दिने बताउनुभयो ।
नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिकाः महासचिव पोखरेल
महासचिव पोखरेलले नेपाल र चीनविच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताउनुभयो । भृकुटी र अरनिकोदेखिको जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालविचको सम्बन्धमा महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । जनताको बहुदलीय जनवादका पर्वतक जननेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको बताउनुभयो ।
त्यसैगरी महासचिव पोखरेलले पोखरा र भैरहवा विमानस्थलमा छोङछिङ सहरबाट सिधा उडानका लागि आग्रह गर्नुभयो । महासचिवको आग्रहमा जियाजुनले छोङछिङ सहर इच्छुक रहेको भन्दै त्यो मामिलामा चीनको केन्द्रीय नागरिक उड्ययन मन्त्रालयले निर्णय गर्नुपर्ने भएकोले त्यो पहल गर्ने बताउनुभयो ।
महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनविच व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेश्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । यसले नेपालको स्वाधिनता र स्वाभिमानको पाटोमा गौरव बढाएको बताउनुभयो । उहाँले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरु कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरुको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताउनुभयो ।
महासचिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तराष्ट्रिय विमानस्थल पोखरा अन्तराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव पनि राख्नुभयो । भेटमा नेकपा ९एमाले० विदेश विभाग प्रमुख राजन भटराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरु हुनुहुन्थ्यो ।