पानी रङको सहरमा कलामा लोभिँदै युवा
कास्की, २२ भदौ । धेरै पानी पर्ने भएकाले पोखरालाई नेपालको चेरापुुन्जीको उपमा दिइन्छ । क्षणभरमा नै पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमा नै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो । यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ ।
कलाका क्षेत्रमा प्रयोग हुने ऐतिहासिक रङका रुपमा पानी रङ स्थापित छ । कलाको इतिहासमा सबैभन्दा बढी प्रयोग भएको रङ (वाटर कलर) मा विगतमा पोखरामा धेरै कला सिर्जना भएकै कारण पानी रङको सहरका रुपमा पोखरा चिनिएको हो ।
पानी रङको प्रयोग गरी कला सिर्जना थालेका वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ देखि बुद्धि गुरुङजस्ता व्यक्तित्वले पोखरालाई पानी रङको सहरका रुपमा परिचित गराउन विशिष्ट योगदान पुर्याएका हुन् । त्यही पानी रङको सहर पोखराले कलाका क्षेत्रमा आफ्नै विशिष्ट मौलिकता सँगाल्दै अघि बढिरहेको छ । हजुुरबुबा पुस्तादेखि नाति पुस्तासम्मका व्यक्ति पोखरामा कला सिर्जनामा लागेका छन् ।
तनहुँको भीमाद जन्मस्थान भई पोखराको न्यू ग्यालेक्सी स्कुलबाट १२ कक्षा सकेर बसेका एमन गुरुङ यतिखेर कला सिक्दै हुनुुहुन्छ । सानैदेखि आफूूलाई चित्र कोर्न मन लाग्ने गरेको बताउने उहाँ अहिले पोखराको चिप्लेढुङ्गास्थित घामपानी मार्केटभित्र रहेको नगेन आर्ट एकेडेमीमा कला सिक्न लाग्नुुभएको हो । कलाको एक वर्षे कोर्ष सिक्ने क्रममा छ महिना समय एकेडेमीमा विताइसकेको उल्लेख गँर्दै एमनले आफूले कलामा सम्भावना देखेको बताउनुुभयो । “कला सिर्जना मेरो रुचिको विषय हो”, उहाँले भन्नुुभयो, “राम्रोसँग कला सिकेर यस क्षेत्रमा म केही गर्न चाहन्छुु ।”
पोखराकै काजी पोखरीका आयुुष गुरुङ पनि १२ कक्षा उत्तीर्ण गरी कला सिक्न एकेडेमी पुुग्नुुभएको छ । कला सिर्जनाको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उहाँले यस क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ आफू तालिम लिन आएको बताउनुुभयो ।
पछिल्लो समयमा कला क्षेत्रमा युवाको आकर्षण बढिरहेको नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले बताउनुभयो । कला क्षेत्रमा केही जान्ने र सिक्ने चाहना भएका व्यक्तिलाई लक्ष्य गरी एकेडेमी सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उहाँले एकेडेमी सञ्चालनको एक वर्षे समयावधिमा विभिन्न ७७ युवाले कला सिकेर गएको जानकारी दिनुुभयो ।
एकेडेमीबाट एक हप्तादेखि तीन वर्षसम्मका विभिन्न कोर्षका पठनपाठन गराउने गरिएको छ । पछिल्ला वर्षमा कला सिक्न युवाहरूको आकर्षण बढिरहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेन सिंहले बताउनुुभयो ।