प्रचण्ड नेतृत्व सरकारको विकल्प खोज्न देउवालाई केन्द्रीय सदस्यहरुको दबाब
काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार अहिले के गरिरहेको छ, त्यसको समीक्षा गर्नुपर्ने भन्दै आवाज उठाएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले यस्तो आवाज उठाएका हुन् ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा बसिरहने कि छाड्ने भन्ने विषयमा समेत गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्य राजीव ढुंगानाले कांग्रेसकै सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भएको, ताप्लेजुङमा प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले नै गुण्डागर्दी गरेको जस्ता घटनामा सरकार मौन बस्नु गलत भएको उल्लेख गर्नुभयो ।
बैंकबाट ऋण लिएर साना व्यापार तथा व्यवसाय गर्नेहरूमा निराशा देखिएको भन्दै उहाँले वर्तमान सरकार जनताको सरकार हो भन्ने प्रत्याभूति दिन नसकेको ठोकुवा गर्नुभयो ।
सरकारले गरेका एक–दुई कामका जस प्रधानमन्त्री प्रचण्डको पार्टीले लिने अनि सिंगो सरकारको असफलताको भारी कांग्रेसले बोक्नुपर्ने गरी अगाडि बढ्नुको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई जनमुखी काम गर्न आग्रह गर्नुपर्ने बताउनुभयो । गठबन्धन जोगाउनुमात्र उपलब्धि होइन भन्दै पौडेलले देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने बताउनुभयो ।
बजार क्षेत्रका ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महंगी भएको भन्दैसरकारले कुनै अनुगमन नगरेको उहाँको दाबी छ । ठिक ढंगले सरकार नचले समर्थन फिर्ता लिनुपर्ने पौडेलले बताउनुभयो । केन्द्रीय सदस्य भीम पराजुलीले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनामा सरकारमा सम्मिलित नेताहरूको धारणा माग्नुभयो । कांग्रेसलाई छानीछानी दुःख दिने गृहमन्त्रीको नियतबारे पनि समीक्षा गर्नुपर्ने उहाँको माग थियो ।
सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समाचारमा आउँदा पनि पक्राउ गर्ने र मुद्दा चलाउने कुरामा निरीह भएको भन्दै त्यसको पनि समीक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य राजीव ढुंगानाले सरकारको कामको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। भ्रष्टाचारका केही फाइल खोलिएपछि भ्रष्टाचार घटेको महसुस भएपनि शान्ति सुरक्षाको स्थिति ठीक नभएको बताउनुभयो । केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले कांग्रेस सरकारमा भए पनि नेता तथा कार्यकर्ता सुरक्षित नरहेको बताउनुभयो ।