बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौंडा, १७ असाेज । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । विवादका कारण दुई दिनदेखि स्थगित भएकोबागमती प्रदेश सभा बैठक आज बाेलाइएकाे हाे । बैठक दिउँसाे ४ बजे बाेलाइएकाे छ ।
साेमबारकाे बैठकमा प्रतिपक्षी दल एमालेले अवराेध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । पछि बस्ने भनिए पनि पुनः बस्न नसकेपछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियाे । तर, मंगलबार पनि बैठक बस्दै नबसी स्थगित गरिए पछि बुधबार ४ बजे सम्मका लागि स्थगित गरिएकाे थियाे ।
प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले साेमबारकाे बैठकमा अवरोध गरेको थियाे । त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियाे तर सहमति हुन नसक्दा मगलबार पनि बैठक सुचारू नभइ स्थगित गरिएकाे हाे ।
सो विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने आफू समक्ष प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए । गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटीहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका थिए ।
तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेस गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेस गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो ।