कालीगण्डकी नदीमा डुङ्गा खियाउने माझी समुदायलाई रोजीरोटीकै पिरलो

बागलुङ, २६ असोज । कालीगण्डकी नदीमा डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका माझी समुदायलाई रोजीरोटीकै पिरलो भएकाे छ ।

पुर्खौंदेखि नदीमा डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदाय संकटमा परेका हुन् ।

पुर्खौंदेखिको पेसा अगाल्दै जीविकोपार्जन गर्दै आएका उनीहरु नदीमा छिर्न नपाउँदा अहिले फुर्सिदला भएका छन् । न्यून आयस्तर भएका सीमान्तकृत उनीहरु नदीमा नपसेको दुई वर्ष पुगेको छ ।

पुस्तौँदेखि कालीगण्डकी किनाराको खनियाबासमा बस्दै आएका १७ घरपरिवार माझी समुदाय बागलुङ पोखरा सडक विस्तारका क्रममा विस्थापित भएपछि बागलुङको बाङ्गेचौरमा आश्रित थिए ।

बागलुङ नगरपालिकाले सीमान्तकृत माझी समुदायलाई पाँच वर्ष अघिमात्रै खनियाबासमा जग्गासहितको घर बनाइदिएको थियो । पुस्तौँदेखि यही कालीगण्डकी नदीको छेउमा बस्तै आएका हामीहरुलाई दुई वर्षदेखि कालीगण्डकी नदीमा पस्न नदिएको देउकुमारी माझीले दुखेसो गर्नुभयो ।

“हाम्रो आश्रयस्थलनै कालीगण्डकी नदी थियो, अहिले त्यही नदीमा नगएको दुई वर्ष भयो, माझी समुदायको पीडा कस्ले बुझ्ने, कालीगण्डकी नदीमा खनीखोस्री गरेर जीविका चलाउँदै आएका थियाैँ, अहिले बालुवा निकाल्न दिइँदैन, रातको समयमा डोजरले निकालेर आँखै अगाडि लगेर जान्छ, हामी त हेरेकोहेरै”, उहाँले भन्नुभयो, “पहिला सुन चाल्ने बगर अहिले छैन, खोलामा डोजर हालेर बगर नै राखेनन् त्यही बालुवा निकालेर पेट पाल्दै आएका थियौँ, अहिले बालुवा लिनलाई ट्र्याक्टर आउँदैनन्, हामीले बिल बनाएर बालुवा बिक्री गर्न कहाँ सक्छौँ र ?”

उहाँले पुर्खौंदेखिको पेसालाई सरकारले हटाउँदा माझी समुदायले हातमुख जोर्न समस्या भएको जनाउँदै स्थानीय सरकारलाई पटक–पटक गुनासो गरे पनि सुनुवाइ नभएको बताउनुभयो ।

उहाँले नदीजन्य उत्खनन रोक्नका लागि हामी जस्तालाई रोक लगाएको र क्रसर व्यवसायीलाई प्रोत्साहन गरेको दुखेसो सुनाउनुभयो । पहिला बालुवा चाल्ने गरे पनि अहिले खोला गहिरो भएर गएकाले एक दशकदेखि यहाँका माझी समुदायले बालुवा चाल्न छोडेका छन् ।

पछिल्लो समय कालीगण्डकीमा माछासमेत कम पाइन थालेपछि उनीहरु पेसाबाट पलायन भइरहेको पाइएको हाे । यहाँका माझी समुदाय हातमुख जोर्नकै लागि विस्तारै पेसा परिवर्तन गर्न बाध्य भएको स्थानीय मङ्गली माझीले बताउनुभयो ।

“हाम्रो त खोलाबाट बालुवा निकाल्ने अधिकारनै हो तर माफियाले गरिखान दिएनन्, रातिमा डोजर लगाएर चोर्नेकार्य भइरहन्छ, हामीलाई एक बोरा बालुवा निकाल्न नदिएको दुई वर्ष भयो, हाम्रो पीडा कसैले बुझ्दैनन् यहाँका माझी अहिले अरुको घरमा काम गर्ने, ज्यालादारीमा खोतालो जाने, खेतबारीमा काम गर्न जान थालेका छौँ”, उहाँले भन्नुभयो ।

खनियाबासमा अहिले १७ माझी परिवार बसोबास गर्दै आएका छन् । यहाँका युवायुवती विस्तारै सहकारी र अन्य सङ्घ संस्थामा कार्यरत हुन थालेका छन् भने वृद्धवृद्धा नदीमा बालुवा निकाल्न नपाए पनि फुर्सदिला भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *