चेक रिपब्लिकमाथि दक्षिण कोरियाको रोमाञ्चक जित

काठमाडौँ, २९ जेठ । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ। मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा आज भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २-१ गोलअन्तरको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

दक्षिण कोरियाको जितमा हवाङ इन बोम र ओ ह्युन ग्युले समान १/१ गोल गरे। चेक रिपब्लिकका तर्फबाट भने लाडिस्लाभ क्रेज्चीले सान्त्वना गोल फर्काए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चेक रिपब्लिकले पहिले अग्रता लिएको थियो। खेलको ५९ औँ मिनेटमा लाडिस्लाभ क्रेज्चीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, चेक रिपब्लिकको १-० को अग्रता धेरै समय टिक्न सकेन।

खेलको ६७औँ मिनेटमा दक्षिण कोरियाका हवाङ इन बोमले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि खेलको ८०औँ मिनेटमा ओ ह्युन ग्युले गोल गर्दै दक्षिण कोरियालाई २-१ को निर्णायक अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्न सफल भयो।

यो जितसँगै ३ अङ्क बटुल्दै दक्षिण कोरिया समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ। समूह ‘ए’ अन्तर्गत यसअघि भएको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको आयोजक मेक्सिको गोलअन्तरका आधारमा अङ्क तालिकाको शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *