नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब, आयात बढ्दा निर्यात घट्यो

काठमाडौँ, १२ कात्तिक । चालू आर्थिक वर्षको असोज महिनासम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब पुगेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा रु तीन खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको जनाएकाे हाे ।

विभागका अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।

विभागकाे असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट रु ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा रु ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार रु चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।