व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान
कञ्चनपुर, ९ मङ्सिर । परम्परागत अन्नबालीको तुलनामा सागसब्जी, नर्सरी तथा च्याउखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरका किसान व्यावसायिक कृषिमा आकर्षित भएका छन् । थोरै लगानी र मिहिनेतबाट सुरु गरिएको खेतीलाई विस्तार गर्दै यहाँका किसान आत्मनिर्भर बन्न सफल भएका हुन् ।
भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले रु ५०० लगानीमा एक कट्ठा जग्गाबाट सुरु गर्नुभएको सागसब्जीखेती अहिले तीन बिघामा फैलिएको छ । पहिलो चरणको बिक्रीबाट रु १० हजार आम्दानी भएपछि खेती विस्तारमा लाग्नुभएका उहाँले विसं २०७२ देखि यसलाई व्यावसायिक रूप दिनुभएको हो ।
धान र गहुँको तुलनामा सागसब्जीबाट तीन गुणासम्म बढी आम्दानी हुने गरेको खड्का बताउनुहुन्छ । कोरोना महामारीका बेला भारतबाट फर्किएका दुई छोरासमेत खेतीमा जोडिएपछि व्यवसाय थप फस्टाएको उहाँको भनाइ छ । खड्काका अनुसार सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको छ । यही आम्दानीबाट उहाँले घर निर्माण, छोराको वैदेशिक यात्रा, खेतीका लागि तीन वटा मोटरसाइकल र ५० प्रतिशत अनुदानमा अटो खरिद गर्नुभएको छ ।
त्यसैगरी, भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्दले रु ५० हजारको लगानीबाट सुरु गर्नुभएको बिरुवा उत्पादन व्यवसाय (नर्सरी) बाट वार्षिक रु ६० लाखसम्मको कारोबार गर्दै आउनुभएको छ । एक दशकअघि सुरु भएको उक्त व्यवसायबाट खर्च कटाएर वार्षिक रु १५ लाखसम्म बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।
पहिले कुटानीपिसानी मिल सञ्चालन गर्दै आउनुभएका चन्दले विद्युत्, कामदार अभाव र ऋणको चाप बढेपछि नर्सरी व्यवसाय रोज्नुभएको थियो । हाल उहाँले आफ्नै आधा बिघा र भाडाको डेढ बिघा गरी दुई बिघा जग्गामा फलफूल तथा सजावटका ४५ प्रकारका बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँको नर्सरीमा प्रतिगोटा रु २०० देखि रु १० हजारसम्मका बिरुवा बिक्री हुने गरेका छन् ।
यता, श्रीमान्को निधनपछि घरखर्च धान्नकै लागि अरूको भर पर्नुपर्ने अवस्था आएपछि भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाले च्याउखेतीमार्फत आत्मनिर्भरताको बाटो रोज्नुभयो । सात वर्षअघि सामान्य जानकारीकै भरमा च्याउखेती थाल्नुभएकी उहाँले अहिले पाँच वटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गरिरहनुभएको छ ।
च्याउखेतीमा लगानी कटाएर करिब ५० प्रतिशत नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । वार्षिक करिब एक हजार ५०० किलोग्राम च्याउ बिक्रीबाट रु दुई लाख हाराहारी आम्दानी हुने र त्यसैबाट घरखर्च तथा दुई छोराको पढाइ खर्च धान्दै आएको थापाले जानकारी दिनुभयो । प्राप्त नाफालाई उहाँले पुनः व्यवसायमै लगानी गर्दै आउनुभएको छ ।
उमेरले कृषि उद्यममा कुनै बाधा नपुर्याउने उदाहरण भीमदत्त नगरपालिका–११ भुजेलाकै ७५ वर्षीय अर्जुनबहादुर डाँगी हुनुहुन्छ । पूर्वप्रहरी सहायक निरीक्षक डाँगीले २०५४ सालमा राजीनामा दिएर गाउँ फर्किएपछि सागसब्जीखेती सुरु गर्नुभएको थियो ।
सुरुमा १०० ग्राम धनियाको बीउ छरेर रु एक हजार २०० आम्दानी गर्नुभएका उहाँले हाल पाँच कट्ठा जग्गामा मौसमी तथा बेमौसमी सागसब्जी लगाउँदै आउनुभएको छ । आलु, लसुन, काउली, बन्दा, रायो र धनियालगायतका तरकारी बिक्रीबाट उहाँले वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ ।
