रोहिङ्ग्या स्वदेश फिर्ता, वार्ताका लागि म्यान्माको टोली बङ्गलादेशमा

एजेन्सी, १४ कात्तिक । लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्माका अधिकारीहरू बङ्गलादेश आइपुगेको अधिकारीहरूले बताएका छन् ।
बङ्गलादेश करिब १० लाख रोहिङ्ग्या शरणार्थीहरूको घर हो । यीमध्ये अधिकांश सन् २०१७ मा म्यान्माको सेनाको हिंसात्मक कारवाहीपछि भागेका हुन् । अहिले संयुक्त राष्ट्रसङ्घले उक्त नरसंहारको अनुसन्धान गरिरहेको छ ।
राज्यविहीन र उत्पीडित अल्पसङ्ख्यक रोहिङ्ग्या शरणार्थी भीडभाड, खतरनाक र कम स्रोतसाधन भएका उद्धार शिविरमा बसेका छन् र उनीहरूको स्वदेश फिर्तीका लागि पछिल्ला थुप्रै प्रयास म्यान्मा र स्वयं शरणार्थीहरूको अनिच्छाका कारण असफल भइरहेको छ ।
रोहिङ्ग्या परिवारहरूसँग भेट्नका लागि म्यान्माका अधिकारीहरूको टोली बङ्गलादेशसँग उनीहरूको साझा सीमाको ठीक अगाडि रहेको नदी टेकनाफको किनारमा पुगेको छ ।
“आज उहाँहरूले रोहिङ्ग्यासँग स्वदेश फिर्तीबारे कुराकानी गर्नु हुनेछ र उनीहरूको पहिचान प्रमाणित गर्नु हुनेछ”, बङ्गलादेशका शरणार्थी उपआयुक्त समसुद डुजाले भन्नुभयो, “टोली आज म्यान्मा जानेछ तर भोलि फर्कने छ ।”
म्यान्माले अप्रिलमा दुवै मुलुक र चीनबीच त्रिपक्षीय बैठकमा पाइलट स्वदेश फिर्ता योजनाअन्गर्तत डिसेम्बरसम्ममा तीन हजार शरणार्थीलाई फिर्ता लैजाने योजना बनाएका बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।
रोहिङ्ग्या समुदायले आफूहरूलाई नागरिकता दिइए र आफ्नो भूमिमा पुनः बसाइए मात्र म्यान्मा फर्किने रोहिङ्ग्या समुदायका नेताहरूले लामो समयदेखि बताउँदै आएका छन् ।
सन् २०१५ मा म्यान्माले रोहिङ्ग्याहरूको नागरिकतालाई मान्यता बन्द गरेपछि उनीहरू राज्यविहीन बनेका छन् ।