अमेरिकामा शक्तिशाली आँधीः ९ लाखभन्दा बढी विद्युत् सेवा अवरुद्ध, सडक तथा हवाई सेवा प्रभावित

काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा ‘थ्यांक्सगिभिङ’ पर्वका बेला आएको शक्तिशाली आँधीका कारण करिब ९ लाखभन्दा बढी घर तथा व्यवसाय विद्युत् सेवाबाट प्रभावित भएका छन्। तीव्र हावा, भारी वर्षा र तटीय क्षेत्रमा आएको बाढीका कारण सडक, पुल तथा हवाई सेवा समेत प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एसोसिएटेड प्रेस (एपी)ले जनाएका छन्।

रोयटर्सका अनुसार बिहीबार साँझसम्म अमेरिकामा करिब ९ लाख ६१ हजार विद्युत् ग्राहक सेवा विहीन भएका थिए। पेन्सिलभेनियामा २ लाख ३५ हजारभन्दा बढी, न्यु जर्सीमा १ लाख ८० हजारभन्दा बढी, मेरिल्यान्डमा १ लाख ५६ हजार र भर्जिनियामा १ लाख ३२ हजारभन्दा बढी ग्राहक प्रभावित भएका थिए। मिसौरी, डेलावेयर र न्युयोर्कमा समेत ठूलो संख्यामा विद्युत् अवरुद्ध भएको थियो।

आँधीका कारण पूर्वी तटीय क्षेत्रमा हावाको गति प्रतिघण्टा करिब ११२ किलोमिटरसम्म पुगेको थियो। तीव्र हावाले रुख तथा विद्युत् प्रसारणका पोल ढालेका छन् भने कतिपय स्थानमा घर तथा सवारीसाधनमा समेत क्षति पुगेको छ। भारी वर्षा र उच्च ज्वारका कारण न्यु जर्सी, भर्जिनिया, नर्थ क्यारोलिनालगायतका तटीय क्षेत्रमा बाढी आएको छ।

न्यु जर्सीका केही तटीय बस्तीमा सडकमा पानी भरिएपछि सवारीसाधन फसेका थिए। भर्जिनियाको चेसापिक बे ब्रिज–टनेल केही समय बन्द गरिएको थियो भने नर्थ क्यारोलिनाको ह्याटेरस आइल्यान्ड जोड्ने एनसी–१२ राजमार्गमा समुद्री पानी पसेपछि सडक बन्द गरिएको थियो।

आँधीले हवाई यातायातमा पनि ठूलो असर पारेको छ। फ्लाइटअवेयरका अनुसार बिहीबार अमेरिकासँग सम्बन्धित ४४० उडान रद्द भएका थिए भने २ हजार २०० भन्दा बढी उडान ढिला भएका थिए। वासिङ्टन र न्युयोर्क क्षेत्रका विमानस्थल बढी प्रभावित भएका थिए।

न्युयोर्कमा खराब मौसमका कारण चर्चित म्यासिज थ्यांक्सगिभिङ डे परेड समेत स्थगित गरिएको छ। यो परेडको इतिहासमै पहिलोपटक निर्धारित दिनमा आयोजना हुन नसकेको हो। मौसममा सुधार आएपछि शनिबार परेड आयोजना गर्ने तयारी गरिएको छ।

यसैबीच अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा भारी हिमपातसमेत भएको छ। मिसौरी र इलिनोइसका केही क्षेत्रमा हिमपातका कारण यातायात प्रभावित भएको छ भने सेन्ट लुइस आसपास ३३ सेन्टिमिटरसम्म हिमपात हुने पूर्वानुमान गरिएको थियो।

अमेरिकी मौसम सेवाले वर्षाले भिजेको जमिन र तीव्र हावाका कारण थप रुख तथा विद्युत् पोल ढल्न सक्ने चेतावनी दिएको छ। पूर्वी तटीय क्षेत्रमा शुक्रबारसम्म हावाहुरी र बाढीको जोखिम कायम रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *