टिकटक नियन्त्रण गर्दै सरकार, के सम्भव हाेला त?
काठमाडौं, २० कात्तिक । सरकारले सामाजिक सञ्जाल टिकटक नियन्त्रण गर्ने भएको छ । टिकटकप्रति दिनप्रतिदिन नेपालीहरूकाे क्रेज बढ्दै गएपछि टिकटकमा गाली बेइज्जती गर्ने, अश्लिल गतिविधि गर्ने र सामाजिकरूपमा गालीगलाैज देखि याैनजन्य कृयाकलाप बढ्नथालेपछि गृह मन्त्रालयले एक विज्ञप्ती निकाल्दै टिकटक नियन्त्रण गर्न लागेकाे हाे ।
अहिलेसम्म स्वस्फूर्त रूपमा टिकटक चलाइरहेका टिकटकरहरूले अब गृह मन्त्रालयकाे नियममा रहेर टिकटक चलाउनु पर्नेछ ।
टिकटकमा अवान्चित गतिविधि बढेको निष्कर्ष निकाल्दै गृह मन्त्रालय र सञ्चार मन्त्रालयले नियमन गर्ने अन्तिम तयारीमा गरेका हुन् । गृह मन्त्रालयले नियमनका लागि चाहिने कानुनी र प्राविधिक पक्षको तयारी करिब सकाएको छ ।
नेपालमा टिकटक प्रयोग कर्ता लाखौँ पुगिसकेको अवस्थामा यसलाई नियमन बाहिर राख्दा नेपालगञ्जमा हिन्दु मुस्लिम झडप जस्ता घटना दोहोरिनेमा सरकार, राजनीतिक दल र प्रशासकहरु चिन्तित छन्। अधिकांश दलहरु टिकटकलाई नियमन गर्नुपर्ने पक्षमा रहेकाले पनि सरकारलाई सहज भएको गृहमन्त्री निकट एक अधिकारीले बताए।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईलेका अनुसार ‘टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लिल खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुनेछ।
नियमनका लागि सहजिकरण गर्न सरकारले टिकटको कार्यालय सिंगापुरबाट प्राविधिसहितको टोली झिकाएर छलफल पनि गरेको छ । टिकटको एसिया क्षेत्र हेर्ने प्रतिनिधि नियमन गर्न सरकारसँग दुईवटा कुरामा समझदारी गरेर फर्किसकेकाे गृहले जनाएकाे छ । समझदारीअनुसार अब सेन्सरमा नेपालको आवश्यकताअनुसार थप कडाइ हुनेछ।