सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौं, ५ मंसिर । सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध परेकाे १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।

टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । ती रिटमाथि सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा पक्ष र विपक्षमा प्रतिक्रिया आएका थिए । कतिपयले प्रतिबन्ध ठिक छ भनेर सरकारी निर्णयको प्रशंसा गरिरहँदा अधिकांशले भने टिकटकमाथि प्रतिबन्ध नभई नियमनको खाँचो रहेको औँल्याएका थिए ।