उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
काठमाडौं, ७ मंसिर । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जनालाई दोषी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो ।
उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ भने उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ ।
इजलास नम्बर २६ मा भएको सुनुवाइमा चलाउनेको पक्षबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, राधिका खतिवडा, बसन्त जोशी, श्रीकान्त बराललगायत ९ जना वकिलले बहस गरेका थिए ।
यस्तै सरकारी वकिलहरु चन्द्रप्रसाद सञ्जेल, दिनेश श्रेष्ठ र श्रीकान्त खनालले पनि बहस गरेका थिए । प्रतिवादीको तर्फबाट योगेन्द्रबहादुर अधिकारी, शेरबहादुर केसी, दयानाथ खरेल, उज्ज्वलराज घिमिरेलगायतले बहस गरेका थिए ।
२० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले निर्घात कुटपिट गरेका थिए ।घटनापछि उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो ।
आक्रामण भएको केही दिनमा नै चलाउनेले ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले गत ९ साउनमा यो मुद्दालाई यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालतलाई आदेश गरेको थियो ।