विश्वकीर्तिमानी सङ्गीतकार सन्तोषलाई पाठक कला सङ्गीत सम्मान

काठमाडाैं, १७ मंसिर । विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठलाई पाठक कला सङ्गीत सम्मान- २०७९ द्वारा सम्मान गरिएकाे छ ।

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले नेपाली गीतसङ्गीतको विकास र विस्तारको लागि निरन्तर अगाडि बढिरहेका सङ्गीतकार श्रेष्ठलाई मञ्चकाे आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा नगदसहित सम्मान गरेको हाे ।

अन्तर्राष्ट्रिय पचास भाषाका गीतलाई सङ्गीतबद्ध गरेर गिनिज बुक अफ रेकर्डबाट विश्वकीर्तिमान पाउनुभएका सङ्गीतकार श्रेष्ठलाई नेपालको साङ्गीतिक पृष्ठिभूमिभित्र गीतसङ्गीत र साहित्यलाई थप उचाइँमा पुर्‍याउनका लागि अनवरत रुपमा गायन तथा सङ्गीतको क्षेत्रमा कार्यरत रहँदै आएको भन्दै मञ्चले श्रेष्ठलाई सम्मान गरेको जनाएको छ ।

देवराज पाठकद्वारा साङ्गीतिक क्षेत्रमा क्रियाशील प्रतिभालाई हौसला बढाउने उद्देश्यले स्थापना गरिएकाे ‘पाठक कला सङ्गीत सम्मान’२०७९ ले सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले विश्वकीर्तिमानी सङ्गीतकार श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुसी हुनुका साथै गीतसङ्गीतको क्षेत्रमा सङ्गीतकार श्रेष्ठको योदानको प्रशंसा गर्नुभएकाे थियाे ।

कार्यक्रममा सङ्गीतकार श्रेष्ठले सम्मानपत्र ग्रहण गर्दै आफूले पाएको सम्मानले थप जिम्मेवारी बोध गराएको बताउनुभयाे । उहाँले गीतसङ्गीत र साहित्यमा आफ्नाे याेगदानकाे कदर भएकाेमा खुसी व्यक्त गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *