नेपालगञ्जमा नियमविपरीत सञ्चालित ई–रिक्सा नियन्त्रणमा

बाँके, २० मंसिर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई–रिक्सा नियन्त्रणमा लिएको छ ।

यात्रु बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई–रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

उहाँका अनुसार मङ्गलबार एक सय ३२ ई–रिक्सालाई नियन्त्रणमा लिइएको छ । नीतिनियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ यात्रुवाहक ई–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ ई–रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नियन्त्रणमा लिएर राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

“यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई–रिक्सालाई गुड्न दिइने छैन”, प्रजिअ पोखरेलले भन्नुभयो, “यातायातमा प्रक्रिया पुर्याएर उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई–रिक्सा चल्ने अनुमति दिने छौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार उक्त ई–रिक्सा ‘होल्ड’ गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई–रिक्सा कम्पनीलगायत सरोकारवालाबीचको निरन्तर छलफल र बैठकपछि ई–रिक्सा होल्ड गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाद्धारा पछिल्लो पटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *