प्युठानमा बेहुलाको गाडीकाे ठक्करले जन्तीको मृत्यु, चार जना घाइते
काठमाडाैं, २८ मंसिर । प्युठानमा बेहुला चढेको गाडीको ठक्करबाट एकजना जन्तीको मृत्यु भएको छ।
बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीपले जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे ।
जन्तीकाे पछि-पछि हिँडिरहेको बेहुलाको गाडीकाे टायर अकास्मात् पन्चर भई अगाडि हुत्तिएर दुर्घटना भएको प्युठानका प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा मल्लरानी गाउँपालिका-३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृतक मल्लरानी गाउँपालिका –३ का वडा सदस्यसमेत हुन् ।
दुर्घटनामा मल्लरानी गाउँपालिका-३ का कृष्ण परियार, ऐरावती गाउँपालिका-२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका-५ कि पिपला सुनार घाइते भएकाे प्रहरीले जनाएकाे छ । उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।