महानगरका तीन कर्मचारी निलम्बनः प्रशासन संयन्त्रको जालझेलको एक नमूना

काठमाडौंं, १८ पुस । काठमाडौंं महानगरपालिकामा अहिले तीन जना कर्मचारी निलम्बनमा परेकाछन् । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै उनीहरु निलम्बनमा परेकाहुन् । अहिले उनीहरु निलम्बनमा परेपछि त्यसको सर्वत्र चर्चा सुरु भएको छ । काठमाडौं महानगरपालिका यस्तो ठाउँ हो । त्यहाँ जागिर सुरु गरेदेखि जागिरको अवधि नसकिउन्जेलसम्म कर्मचारीले काम गर्ने अवसर पाउँछन् । त्यहाँ हरेक पटक नेतृत्व फेरिए पनि कर्मचारी भने कहिल्यै फेरिदैँनन् । त्यसैले लामो समयदेखि एकै ठाउँमा काम गर्दै आएका त्यहाँका कर्मचारी हरेक कुरामा जानकारी राख्ने र अनुभवी हुन्छन् ।

उनीहरुले चाहेको खण्डमा नहुने काम पनि संभव हुन्छ भने उनीहरुले चाहेनन् भने हुने कुरा पनि अशंभव हुन्छ । काठमाडौंं महानगरपालिका यस्तो अद्भूत ठाउँ हो कि त्यहाँ कर्मचारीले आफूलाई फाइदा नहुने फायल आयो भने गायव गराई दिन्छन् । यस अघिका मेयर विद्यासुन्दर शाक्य फायल हराउने समस्याबाट आजित भएको गुनासो पटक–पटक गर्ने गर्नुहुन्थ्यो ।

फायल हराउने त्यहि महानगरपालिकामा अहिले भने नयाँ काण्ड आएको छ । निर्णय नै नभएको व्यक्तिलाई नियुक्ति गराउने त्यो पनि कर्मचारीको आफन्तलाई । हो, अहिले त्यहि लफडाका कारण तीन कर्मचारी निलम्बनमा परेका छन् । प्राप्त जानकारी अनुसार महानगर नेतृत्वले प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न भनेको छ भने मेयर बालेन्द्र साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् ।

अहिले प्रमुख प्रशासकीय अधिकृत र निलम्बनमा परेका तीन कर्मचारीका बारेमा छानविन गर्न महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा कानूनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन शाखाका अधिकृत प्रवीण प्याकुरेल सदस्य रहेको समिति बनेको छ । त्यो समितिले छानविनको रिपोर्ट तयार नगरुन्जेलसम्मका लागि तीन कर्मचारी निलम्बनमा रहने छन् ।

महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंकामा निलम्वनमा परेका कर्मचारीहरुका पक्षमा माहोल ल्याउन कांग्रेस निकट कर्मचारी संगठन लागेको र शक्तिकेन्द्रलाई समेत दवाव दिएको भन्ने चर्चा समेत सुरु भएको छ ।

कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको र निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि छानबिनमा तानिएका ती कर्मचारीको बारेमा छानविन समितिले कस्तो रिपोर्ट तयार पार्ने हो त्यो पछिको कुरा भयो तर कर्मचारीले चाहे भने कतिसम्म वद्मासी गर्न सक्दा रहेछन् भन्ने एउटा उदाहरण त्यो भएको तथ्य भने उजागर भएको छ ।

अहिले प्रमुख प्रशासकीय अधिकृतले आफू त्यसमा संलग्न नभएको भन्दै आफूलाई जोगाउन हारगुहार गरेको र दोष जति सबै तलका कर्मचारीमा लगाउने रणनीति बनाएको समेत बुझिएको छ । तर, प्रशासकीय अधिकृत स्वयं पनि त्यसमा संलग्न रहेकाले आफूहरुलाई मात्रै दोष देखाएर ठूलो माछो उम्काउनु नहुने मत निलम्बनमा परेका कर्मचारीहरुको समेत रहेको स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *