‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्नसँगै इन्द्रजात्राका औपचारिक कार्यक्रम सुरु
यसिं ठड्याउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन इतिहास नभए पनि रणबहादुर शाहको पालादेखि हालको स्थानमा यसिं ठड्याउन थालिएको विश्वास गरिन्छ। त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिरअगाडि यसिं ठड्याउने गरिएको जनविश्वास छ। यसिंलाई उल्लास, विजय र उत्सवको प्रतीकका रूपमा लिइन्छ।
यसिं ठड्याइसकेपछि त्यसको माथि इन्द्र अङ्कित ध्वजा ‘हलिंपता’ फहराइएको थियो। हलिंपता फहराएपछि मानन्धर समुदायले पहिलो पूजा गर्ने परम्परा छ। यसिंको माथिल्लो भागमा गजुरजस्तै देखिने भोगटे राखिएको हुन्छ भने फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ। श्रद्धालुले उक्त मूर्तिमा पूजा तथा आराधना गर्ने गर्दछन् ।
यसिं थनेगुका अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, वडाध्यक्षलगायत जनप्रतिनिधि, स्थानीयवासी तथा श्रद्धालुको उल्लेख्य उपस्थिति थियो।
यस वर्ष भाद्र २८ गते ञलाथ्व द्वितीयाका दिन मानन्धर समुदायका गुठियार यसिं लिन वनतर्फ प्रस्थान गरेका थिए। सोही दिन साँझ ८ बजेर ४७ मिनेटको साइतमा वृक्षकर्तन गरिएको थियो। भाद्र २९ गते यसिं भोटाहिटी ल्याइएको थियो भने असोज ३ गते ञलाथ्व कायाअष्टमीका दिन बिहान ८ बजेर ५ मिनेटको साइतमा यसिं नगर प्रवेश गराइएको थियो। सोही दिनदेखि किलाघःमा दिप्याखं (देवी नाच) सुरु भएको हो।
एकादशीका दिन चसाद्वँ टोलका मानन्धरले यसिंमा डोरी बाँध्ने विधि सम्पन्न गरेका थिए, जसलाई ‘वलः घायेगु’ भनिन्छ। यसिंलाई देवतासरह मानिने भएकाले उठाइसकेपछि माथि चढेर डोरीको गाँठो फुकाल्न नमिल्ने हुँदा तलैबाट गाँठो फुकाल्न सकिने गरी विशेष विधिबाट डोरी बाँध्ने गरिएको हो।
आजै नेवार समुदायले दिवंगत व्यक्तिको सम्झनामा काँचो माटोबाट निर्मित पालामा बत्ती बालेर ‘उपाकु वनेगु’ पर्व मनाउँदैछन्। यस अवसरमा दिवंगतहरूको सम्झना गर्दै उनीहरूको चिरशान्तिको कामना गर्ने परम्परा छ। आजै गणेश र भैरवलाई कुमारी घरमा ल्याई तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी भित्र प्रवेश गराई इन्द्रजात्राका लागि निमन्त्रणा दिने परम्परा रहेको छ। यसअघि हिजो सरकारका तर्फबाट श्री गणेश र श्री भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको थियो।
यसिं ठड्याउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन इतिहास नभए पनि रणबहादुर शाहको पालादेखि हालको स्थानमा यसिं ठड्याउन थालिएको विश्वास गरिन्छ। त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिरअगाडि यसिं ठड्याउने गरिएको जनविश्वास छ। यसिंलाई उल्लास, विजय र उत्सवको प्रतीकका रूपमा लिइन्छ।
इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा रहेको श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा तीन दिनसम्म सञ्चालन हुनेछ। मुख्य रथयात्रा असोज ९ गते शुक्रबारदेखि सुरु हुनेछ। पहिलो दिन रथारोहण तथा पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइनेछ। उक्त दिन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसहित विशिष्ट व्यक्तिको सहभागिता रहनेछ।
पहिलो दिनको रथयात्रापछि दाँगीको नगर परिक्रमा गराउने परम्परा छ। दाँगीलाई इन्द्रदेवकी आमाका रूपमा मानिने गरिन्छ। वर्षभरि दिवंगत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने परम्परा पनि इन्द्रजात्रासँग जोडिएको छ।
असोज १० गते शनिबार माथिल्लो टोलतर्फ रथयात्रा हुनेछ। त्यस्तै, असोज १३ गते मंगलबार नानीचायाका दिन माथिल्लो टोलको किलाघः हुँदै नगर परिक्रमा गराउने परम्परा छ। इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीको सहभागिता रहँदै आएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार विगत १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तान्ने कार्य हुँदै आएको छ। सो दिन राष्ट्रपतिले कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा छ।
तल्लो टोलको रथयात्रा वसन्तपुर, मरु, चिकंमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, ज्याबहाल, कोहिटी, भीमसेनस्थान, मखन हुँदै पुनः वसन्तपुरमा आएर सम्पन्न हुनेछ। माथिल्लो टोलको रथयात्रा वसन्तपुर, प्याफल, यटखा, नरदेवी, टेंगल, न्यौखा, न्हेकन्टोल, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन र हनुमानढोका हुँदै वसन्तपुर आइपुग्नेछ।
नानीचाया रथयात्रा भने वसन्तपुर, प्याफल, यटखा, नरदेवी, किलाघः, भेडासी, इन्द्रचोक, मखन र हनुमानढोका हुँदै वसन्तपुरमा पुगेर सम्पन्न हुनेछ। रथयात्राका क्रममा स्थानीय क्लब तथा संस्थाले रथलाई स्वागत गर्दै विशेष पूजा गर्ने व्यवस्था मिलाउनेछन्।
तीनै दिन हुने रथयात्रामा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरवसमेत सहभागी हुने परम्परा छ। देवी नाच, महाकाली नाच तथा दश अवतार प्रदर्शन इन्द्रजात्राका महत्वपूर्ण सांस्कृतिक गतिविधि हुन्।
जात्रालाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ। जात्रा व्यवस्थापन, सुरक्षा, स्वयंसेवा तथा अन्य व्यवस्थापनमा स्थानीय समुदाय, क्लब तथा विभिन्न संस्थाको सहभागिता रहनेछ। इन्द्रजात्राका क्रममा हनुमानढोकास्थित श्रीश्वेत भैरवको मुखबाट श्रीको प्रसादस्वरूप जाँड खुवाउने परम्परा पनि रहिआएको छ। जात्रा अवधिभर विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन, नाच तथा पूजा सञ्चालन हुनेछन्।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
एआई मोडेल क्लडले पत्ता लगायो सीआरआईएसपीआरजस्तै नयाँ इन्जाइम प्रणाली : एन्थ्रोपिकको दाबी
