भक्तपुरमा आठ दिनसम्म मनाइने परम्परागत इन्द्रजात्रा सुरु
भक्तपुर, ७ असोज । परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा पनि सुरु भएको छ। यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरूप सानो याेसिं ठड्याइएको छ। यसरी ठड्याइएको याेसिंलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ।
संस्कृतिकर्मी सोमनाथ जोशीका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइएको थियो। पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले फूल टिप्दै गरेको बेला पक्राउ गरेका थिए। जयन्तलाई छुटाउन देवता र दैत्यहरूबीच भएको युद्धमा देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउन थालिएको किंवदन्ती रहेको उनले जानकारी दिए।
पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वोःद्यो’ ठड्याइएको छ। यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ।
तस्बिर कृष्ण किसी, भक्तपुर
