बरहथवा घटना : एक दिन निषेधाज्ञा थप्दै छानबिन समिति बनाउने तयारी

सर्लाही, २१ पुस । सर्लाहीको बरहथवामा कर्फ्यु हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछिआज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेका थिए।

जिल्ला प्रशासन सर्लाहीले शनिबार एक सूचना जारी गर्दै सम्भावित जोखिम नटरेको उल्लेख गर्दै आज बिहान ८ बजेदेखि भोलि बिहान ९ बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। कर्फ्यु हटेपछि पनि स्थिति सामान्य बन्ने नदेखिएपछि निषेधाज्ञा जारी गरिएको हाे ।

निषेधाज्ञा पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोति/चोर्निया पुलसम्म जारी गरिएको छ।

त्यस अवधिमा सो क्षेत्रमा कुनैपनि किसिमका भेला, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा गतिविधि गर्न रोक लगाइएको प्रजिअ धमलाले जानकारी दिए।

नगर अस्पतालको विषयलाई लिएर शुक्रबार दुई पक्षबीच झडप हुँदा प्रहरीले गाेली चलाएर स्थिती नियन्त्रणमा लिएकाे थियाे । त्यसक्रममा गोली लागेर बरहथा नगरपालिका-६ का २७ वर्षीय जयशंकर शाहको मृत्यु भएको थियो। तर प्रहरीलाई गोली चलाउने आदेश नभएको प्रजिअ धमलाले जनाएकाे छ ।

त्यसबारेमा अहिले छलफल भएको र घटनाको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको प्रजिअ धमलाले बताए।