संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न सभामुख देवराज घिमिरेद्वारा छलफल

काठमाडौँ, ७ माघ । संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ ।

सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गर्नुभएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढङ्गले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिङ्गो सत्रका लागि अलगअलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको छ ।” साथै संसद्को सत्र कहिलेसम्म सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको र विभिन्न रायसुझाव प्राप्त भएको उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले आगामी हिउँदे सत्र चाँडै बोलाउने र त्यसका लागि गर्नैपर्ने तयारीका सम्बन्धमा पनि राय, परामर्श प्राप्त भएको बताउनुभयो । बैठकमा उहाँले समितिमा विधेयकसम्बन्धी अवस्था र बाँकी रहेका विषयका बारेमा जानकारी लिनुका साथै आवश्यकताअनुसार बैठक बोलाएर समझदारीका साथ छिटो सक्न निर्देशन दिनुभएको थियो ।

सो अवसरमा एउटै विषयमा फरकफरक समितिले गर्ने छलफल सम्बन्धमा कुरा भएको र समन्वयका लागि सभामुखले निर्देशन दिनुभएको थियो । बैठकमा दातृ निकायबाट समितिलाई हुने विभिन्न सहयोगका विषयमा पनि छलफल भएको र त्यस्तो छलफल एकीकृतरुपमा तथा संसद् सचिवालयलमार्फत गर्दा राम्रो हुने सुझाव आएको सभामुख घिमिरेले बताउनुभयो ।