नेप्से आजपनि ओरालोमै, कारोबार रकम पनि घट्यो

काठमाडाैं, २१ माघ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ५.३१ अंक घटेर २०६१.७० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६० अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ७० हजार ७९० पटकको कारोबारमा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने समाज लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन एशियन लाइफ इन्स्योरेन्सले करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ भने निफ्राको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *