फूल जस्तै रङ्गीन काउली फलाए लहानका किसान साहले

सिरहा, २४ माघ । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले फूल जस्तै रङ्गीन र फरक स्वादका काउली फलाउनु भएको छ ।

उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको हाे ।

उहाँले भन्नुभयो “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेका थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।”

उहाँले एक किलोसम्मको काउली फलाउनुभएको थियो । “यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्याउनासाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,” किसान साहले भन्नुभयो, “आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।” उहाँले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सयका दरले बिक्री गर्नुभएको थियो ।

खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उहाँले जानकारी दिनुभयो । “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो ।” प्रधानाध्यापक कुशेश्वर यादवले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *