नेप्से परिसूचक दाेहाेराे अंकले बढ्याे

काठमाडाैं, २९ माघ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । यस दिन नेप्से सूचक १५.३३ अंक बढेर २१०१.१६ विन्दुमा पुगेको हाे ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१४ स्टकको ७५ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको काराेवार भएकाे छ ।

सोमबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफि हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ८.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ।