कृषि क्षेत्रकाे विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति पौडेल

काभ्रेपलाञ्चोक, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेकाे बताउनुभएकाे छ ।
‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
“गरिबीको रेखाभित्रका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।” उहाँले राजनीतिक परिवर्तनपछि मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति नै भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’को व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उल्लेख गर्दै मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्नसक्ने धारणा राख्नुभयो । उहाँले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र सम्वद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराई यसको ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले काभ्रेपलाञ्चोक कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । उहाँले यहाँका नागरिक कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बीउबिजन र मलको आपूर्ति, नवीनतम औजार–उपकरण–यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोक र सिन्धुपाचोकका विभिन्न विधामा उत्कृष्ट छ किसानलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
पुरस्कृत हुनेमा आलु र बीउ उत्पादनको क्षेत्रमा उत्कृष्ट काभ्रेपलाञ्चोकका पनौती नगरपालिका–३ का राजेन्द्र थापा, आलु र तरकारीखेतीमा उत्कृष्ट पाँचखाल नगरपालिका–१२ का बद्रीप्रसाद ढुङ्गाना र पशुपालनतर्फ उत्कृष्ट हुनुभएका बेथानचोक गाउँपालिका वडा नं. १ का रुपेश पाख्रिन पुरस्कृत हुनुभयो ।
साथै ट्राउट माछा पालनमा उत्कृष्ट सिन्धुपाल्चोकबाट हेलम्बु गाउँपालिका वडा नं. ४ का दीपककुमार लामिछाने, मेलम्ची पशुपालन र घाँसखेतीमा उत्कृष्ट नगरपालिका वडा नं. ११ का राजकुमार ढकाल र ब्राखापालन र घाँसखेतीमा उत्कृष्ट भइ भोटेकोशी गाउँपालिका वडा नं. १ का विनोद प्रधान पुरस्कृत हुनुभयो । पुरस्कृत हुनेलाई राष्ट्रपति पौडेलले सम्मानपत्र, दोसल्ला र नगद प्रदान गर्नुभयो ।
जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घद्वारा संयुक्तरुपमा आजदेखि आयोजित बृहत् कृषि महोत्सव चार दिनेसम्म सञ्चालन हुनेछ ।