भुस्याहा कुकुरले मार्याे चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर, १० फागनु । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेर भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् ।

आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । “बैंकबाट रु १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ”, फार्म सञ्चालक आशाले भन्नुभयो, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।”

फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उहाँले बताउनुभयो । फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाएको उहाँले बताउनुभयो । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताउनुभयो ।

“पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिलाई पनि झम्टिने गरेको छ”, उहाँले भन्नुभयो, “धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन् ।” नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *