भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै सुरेन्द्र

काभ्रेपलाञ्चोक, १३ फागुन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त हुनुहुन्छ । ‘शु–कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन गर्दै आउनुभएका उहाँले दूध बेचेर दैनिक रु बीसदेखि रु २५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

घर नजिकै फार्म सञ्चालन गर्नुभएका सुरेन्द्रले दैनिक दुई सय ५० देखि दुई सय ६० लिटरसम्म दूध बिक्री गर्ने गरेको बताउनुभयो । परिवारका सबैले फार्ममा सहयोग गरेका छन् । उहाँका अनुसार एक जनाले रोजगारीसमेत गरिरहेका छन् । बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म फार्ममा काम गर्दै आइएको उहाँको भनाइ छ ।

पाँच वर्ष अगाडि सुरेन्द्रले सुरु गर्नुभएको फार्ममा अहिले २० भैँसी र सात गाई गरी २७ वटा चौपाया छन् । तीन भैँसीबाट फाम सञ्चालन गरेको भन्दै उहाँले करिब रु १२ लाखमा लगानी भएको जानकारी दिनुभयो । उहाँले फार्म निर्माण, व्यवस्थापनलगायत काममा हालसम्म रु पचास लाख खर्च भएको बताउनुभयो ।

फार्म सञ्चालन गर्नुअघि इराकमा दुई वर्ष बसेर फर्किएको सुनाउँदै सुरेन्द्रले गाउँमा व्यावसायिक फार्म सुरु गरेको बताउनुभयो । “भैँसी पाल्न सुरु गर्नुअघि गाउँमा दुई हजार पाँच सय कुखुरा, दुई वटा गाई पालेको थिएँ । साथै तरकारी खेती पनि गरेको थिएँ”, उहाँले भन्नुभयो, “पछि व्यावसायिक रुपमा फार्म सञ्चालन गरेर पशुपालनलाई विस्तार गर्दै लगेको हुँ ।”

फार्मबाट मनग्य आम्दानी भए पनि गाईभैँसीलाई खुवाउने दाना, घाँस, पराललगायत खाद्यान्न सामग्री किन्नुपर्ने भएकाले अझै सोचेजस्तो फाइदा लिन नसकेको सुरेन्द्रको भनाइ थियो । “बजारमा बसेर फार्म सञ्चालन गर्न कठिन छ । सबैचिज किनेर पूर्ति गर्नुपर्छ”, उहाँले भन्नुभयो, “दुःख गरे अनुसार थोरै फाइदा भइरहेको छ । यसैमा खुसी छौँ ।”

आफ्नै जग्गामा फार्म सञ्चालन गरेकाले जग्गाको भाडा तिर्नुपर्ने समस्या नभएको सुरेन्द्रको भनाइ छ । उहाँले बेलाबेलामा विभिन्न रोगले सङ्क्रमण हुने भएकाले पशु प्राविधिकको सहयोग लिनुपर्ने, औषधि गर्नुपर्नेलगायत समस्या आउने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले २० वटा भैँसीको बीमा गरिदिएको भन्दै सात गाईको बीमा गर्न बाँकी रहेको सुरेन्द्रले सुनाउनुभयो । “राज्यको किसानलाई थोरै भएपनि सहयोग गरिदिए वास्तविक किसानलाई धेरै राहत पुग्छ”, उहाँले भन्नुभयो, “कमाई भएको रकम फार्ममा नै लगानी गरेर बढाउँदै लगिरहेकाले अझै धेरै विस्तार गर्न बाँकी छ ।”

फार्मबाट उत्पादन भएको गोबरलाई प्रयोग गरेर गोबर ग्यास निकाल्न आवश्यक तयारीमा भइरहेको सुरेन्द्रले जानकारी दिनुभयो । दूध दुहुने र दाना बनाउने उपकरण सरकारले सहयोग गरेमा व्यवसायलाई थप विस्तार गर्ने उहाँको भनाइ छ ।

फार्ममा खोले पकाउने, दूध दुहुनेलगायत काम गर्दै आउनुभएका धनबहादुर न्यौपानेले फार्ममा रोजगार गर्न थालेदेखि जीविकोपार्जनमा सहज भएको बताउनुभयो ।

बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारीले युवापुस्ता विद्यालय तहको अध्ययन सकिएपछि विदेशतिर जाने लहर चलिरहेको अवस्थामा युवाले थालनी गरेको काममा नगरपालिका र वडाको तर्फबाट सहयोग गर्दै आएको बताउनुभयो । उहाँले युवालाई व्यावसायिक फार्म सञ्चालनमा सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *