दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

काठमाडौँ, १३ फागुन । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो साताको बिहीबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २६.८१ अंक घटेर १९७९.०२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३१७ स्टकको ७१ हजार ८८० पटकको कारोबारमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको ८५ लाख ४६ हजार कित्ता शेयर कारोबार भएको छ।

नेप्से घटेपनि यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य पछिल्ला ८ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको छ।

त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स भने यस दिन कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४२ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *