विमानस्थल, सुरुङ, रेल, पानी जहाजदेखि आकाशमा स्पेस लिनेसम्मको काम एमाले सरकारले गरेको होः महासचिव

मन्थली, १५ फागुन। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रमका कारण पार्टी जनताका बिचमा स्थापित भएको बताउनुभएको छ । नेकपा (एमाले) रामेछाप जिल्ला स्कुल विभागले मन्थलीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको तेस्रो दिन सोमबार सहभागीहरूलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले पार्टीलाई थप बलियो बनाउन दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतालाई परास्त गर्नुपर्ने बताउनुभयो । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माणका लागि दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतालाई समाप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वैचारिक र राजनीतिक काम कम गर्न लागेपछि एउटा इमानदार क्रान्तिकारी पनि बिग्रने महासचिव पोखरेलले बताउनुभयो । पार्टी प्रधान नभएर अमुक नेता प्रधान बनेपछि नेता, कार्यकर्तामा विचलन आउने र पार्टी समाप्त हुने उहाँले बताउनुभयो । एमालेबाट माधव नेपालहरू छुट्टिँदा पार्टीभन्दा व्यक्ति रोजेका मानिसहरू समाप्तिको बाटोमा उन्मुख भएको विश्लेषण उहाँले सुनाउनुभयो ।

नेकपा बनाएपछि पार्टीको काम ठप्प भएका कारण केही मान्छेहरू बिग्रिएका र तिनै बिग्रिएका मानिसले पार्टी फुटाउने काम गरेको महासचिव पोखरेलले बताउनुभयो । यति बेला माधव नेपाल आफूहरूले जित्न नसके पनि एमालेलाई हराएर गठबन्धनको बहुमत पुर्याउन सकेकोमा गर्व गर्दै हिँड्नुभएको भनाइ महासचिव पोखरेलले राख्नुभयो ।
नेपालको निर्णायक आन्दोलनमा कांग्रेससँगै भए पनि आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने कुरामा भने कांग्रेस चुक्ने गरेको बताउनुभयो । कांग्रेसकै कारण बारम्बार प्राप्त उपलब्धि गुमेको उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– कांग्रेसको नियत कहिल्यै सफल रहेन ।

बीपी बाँचुन्जेल कम्युनिष्टसँग मिलेर आन्दोलन गर्न नमानेको कारण पञ्चायत ३० वर्षसम्म चलेको बताउँदै महासचिव पोखरेलले मदन भण्डारीको पहल र गणेशमान सिंहको अग्रसरतामा कांग्रेस र कम्युनिष्ट मिलेर जनआन्दोलन गरेपछि २०४६ को आन्दोलन सफल भएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो– त्यसयता नेपालको राजनीति बीपी कोइरालाको मान्यता विपरीत चलेको छ ।

महासचिव पोखरेलले २०४६ को परिवर्तनपछि संविधान बनाउने बेला पनि कांग्रेस अलग धारमा उभिएको कारण देश पछि परेको बताउनुभयो । त्यति बेला कांग्रेस बाममोर्चाले अगाडि सारेको दृष्टिकोणका पक्षमा उभिएको भए राजतन्त्र त्यति बेलै समाप्त हुने उहाँले प्रष्ट पार्नुभयो ।

माओवादी र राजवादी बिच पनि गुप्त छलफल हुने गरेको र माओवादीले राजासँग मिलेर आन्दोलन गरेको महासचिव पोखरेलले बताउनुभयो । माओवादी र राजावादी बिच सहमतिको तयारी भइरहेको बेला तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि माओवादी बाध्य भएर राजनीतिक दलसँग मिल्न आएको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो–माओवादीको प्रहारको निशाना कहिल्यै राजवादी बनेनन्, उनीहरूको प्रहारको निसाना कांग्रेस र एमाले भए ।

उहाँले राजनीतिक परिवर्तनलाई लक्षको रूपमा बुझ्न नहुने बताउँदै राजनीतिक परिवर्तन समृद्धि र समाजवाद निर्माणको आधार मात्र भएको प्रष्ट पार्नुभयो । देश र जनताको विकासको लागि नेता जनतासँग र जनता नेतासँग जोडिनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । महासचिव पोखरेलले जनमतको आधारमा शासन गर्ने प्रणाली नेपालमा विकास हुन नसकेको भन्नुहुँदै जनताले बहिष्कार गरेको शक्तिले शासन गर्ने र जनताले सबैभन्दा बढी रुचाएको शक्ति सत्ता बाहिर हुने परिस्थिति लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको स्पष्ट पार्नुभयो ।

नेकपा ९एमाले० जति बेला सरकारमा गयो त्यति बेला विकास र समृद्धिको लागि काम गरेको बताउनुभयो । अल्पसङ्ख्यकको संरक्षण, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रम नेकपा (एमाले( ले ल्याएको उहाँले प्रष्ट पार्नुभयो । हुलाकी सडक, पूर्वपश्चिम राजमार्ग विस्तार, फाष्ट ट्रयाक, विमानस्थल, सुरुङ, रेल, पानी जहाजदेखि आकाशमा स्पेस लिनेसम्मको काम एमाले सरकारले गरेको उहाँले स्मरण गराउनुभयो ।

महासचिव पोखरेलले देश बनाउनका लागि देश र जनताको भावना बुझेको नेता आवश्यक पर्ने र नेपालको समकालीन राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली जत्तिको देश र जनता बुझेको नेता अरु कोही नभएको बताउनुभयो । देश निर्माणका लागि अर्को महत्वपूर्ण कुरा बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने र नेकपा (एमाले) अहिले मुलुकको सबैभन्दा बलियो राष्ट्रिय शक्ति भए पनि सत्ता चलाउन पुग्न आवश्यक मत नरहेकाले एमालेलाई एक्लै सरकार चलाउन सक्ने ठाउँमा पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले देशको धार्मिक र सांस्कृतिक पहिचान प्रति गर्व गर्नुपर्ने बताउँदै धर्म र संस्कृति माथिको बढ्दो प्रहार रोक्नु आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । राष्ट्रलाई बलियो र समृद्ध बनाउने हो भने त्यसको जग के हो भन्ने कुरा राम्रोसँग बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा गरेर पार्टी नबन्ने धारणा नेता ढकालले राख्नु भयो ।

जनसंगठन बिनाको पार्टीको कल्पना समेत गर्न नसकिने बताउँदै ढकालले हरेक कुरामा उभार ल्याउन जनसंगठन आवश्यक पर्ने भएकाले जनसंगठनलाई बलियो बनाउँदा मात्र राजनीतिक आन्दोलनलाई बलियो बनाउन सकिने प्रष्ट पार्नुभयो । त्यसैगरी, पार्टीका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले नेकपा माओवादी केन्द्र विदेशीको दलाली गर्ने पार्टी भएको बताउनुभयो ।

राजा त्रिभुवनले गरेको दिल्ली सम्झौताको कारण नेपालमा भारतीय हस्तक्षेप बढेको र राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएर राष्ट्रघाती काम गरेको वताउँदै पोखरेलले यो यथार्थ अहिले राजा आउ, देश बचाउ भन्नेलाई नेपाली जनताले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपालको राजनीति इतिहासमा भीमसेन थापा र केपी शर्मा ओली मात्र राष्ट्रवादी नेता भएको धारणा राख्नुभयो ।

प्रशिक्षक प्रशिक्षण तालिम सोमबार सम्पन्न भएको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा रामेछाप जिल्ला स्कुल विभागका प्रमुख प्रकाशकुमार कार्कीको अध्यक्षता प्रशिक्षण समापन कार्यक्रम भएको हो । कार्यक्रममा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य आनन्द पोखरेल, केन्द्रीय सदस्य गणेश पहाडी, गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगायतका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीलाई महासचिव पोखरेलले प्रमाणपत्र वितरण गर्नुभयो । तालिममा ६० जना नेताकार्यकर्ताले भाग लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *