डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

डोटी, १८ फागुन । डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ ।

सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको हाे । सहकारीले मंसिरदेखि किसानबाट मकै सङ्कलन गर्न सुरु गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः बीउ किसानसम्म पुर्याउने गरेको छ ।

[bsa_pro_ad_space id=69]

यस वर्षको अहिलेसम्म १४ हजार एक सय ७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताउनुभयो । पचपन्न हजार पाँच सय १८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ । सहकारीले प्रतिकेजी रु ८० का दरले बीउ बिक्री गर्दछ ।

सहकारीले अरुण–२, अरुण–४, मनकामना–३, पोषिलो, रामपुर, कम्पोजिटलगायतका विभिन्न उन्नत जातका बीउ बिक्री गर्दै आइरहेको छ । सहकारीले विभिन्न एग्रोभेटमार्फत बीउ आपूर्ति गर्दै आएको छ ।

सहकारीले बिक्री गर्ने बीउबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउनलगायतका विभिन्न प्रयोजनमा आउने गर्छ । सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बीउ बिक्री गरेको थियो ।

[bsa_pro_ad_space id=68]