नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं, १८ फागुन । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियालाई ३ रनले हराएकाे हाे । यस खेल जितेसंगै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए । गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।