पहिरोले नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध
चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिकै आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको हो । पहिरोका कारण मुग्लिनतर्फ आउँदै गरेका र नारायणगढतर्फ जाँदै गरेका सवारी साधनहरूको सडकमा लामो लाम लागेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको छ । “पहिरो पन्छाएर सडक सञ्चालन गर्न कम्तीमा दुई घण्टा लाग्ने अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो ।
वर्षायाममा यस सडकखण्डका विभिन्न स्थानमा पटक–पटक पहिरो खस्ने गरेकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न समेत ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेको छ ।