गुणस्तरहीन खाद्य वस्तु उत्पादन गर्ने चितवनका चार उद्योगमाथि मुद्दा दायर

चितवन, १२ साउन । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी न्यूनस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण गरेको अभियोगमा चितवनका चारवटा उद्योगविरुद्ध पाँचवटा मुद्दा दर्ता गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले ती उद्योगहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । कार्यालयका अनुसार पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुईवटा र अन्य तीन उद्योगविरुद्ध एक–एकवटा मुद्दा दर्ता गरिएको छ ।

रिजाल फुड्स एण्ड बेभरेज (रत्ननगर): यस उद्योगले उत्पादन गरेको दालमोठ र नमकीन मिक्सचरको गुणस्तर परीक्षण गर्दा न्यूनस्तरको पाइएकाले दुईवटा मुद्दा चलाइएको हो ।
ओमकार आयल इन्डष्ट्रिज (खैरहनी): आयातित तोरीको गेडाबाट उत्पादित यस उद्योगको तोरीको तेलमा न्यून गुणस्तर भेटिएको छ ।
नौलो फुड्स इन्डष्ट्रिज (भरतपुर): यस उद्योगले उत्पादन गर्ने सिटिसी चिया ‘असला’ गुणस्तरहीन पाइएको छ ।
आचार्य फुड उद्योग (रत्ननगर): यस उद्योगद्वारा उत्पादित चुक अमिलो मापदण्ड अनुसार नभएको पाइएको छ ।

कार्यालयकी सूचना अधिकारी वन्दना पन्तका अनुसार ती उद्योगहरूमाथि ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।

यसैबीच, कार्यालयले गत आर्थिक वर्षमा आफ्नो अनुगमन कार्यलाई समेत तीव्र पारेको छ । जसअनुसार १० पटक आकस्मिक अनुगमन, ९२ पटक खाद्य बजार अनुगमन, २० पटक दाना बजार, ६३ पटक होटल तथा रेस्टुरेन्ट र ८७ वटा खाद्य उद्योगको अनुगमन गरिएको छ । साथै, विद्यालय र अस्पतालका क्यान्टिन तथा हाटबजारहरूमा समेत नियमित निगरानी बढाइएको कार्यालयले जनाएको छ ।