देवानगन्ज घटनाले विराटनगरका बजार र विद्यालय बन्द, पूर्व–पश्चिम राजमार्ग ठप्प
विराटनगर, १२ साउन । सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा उत्पन्न तनावको बाछिटा कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ । आइतबार राति भएको झडप र त्यसपछिको परिस्थितिका कारण आज मङ्गलबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्र र शैक्षिक संस्थाहरू बन्द भएका छन् ।
सम्भावित जोखिम र त्रासका कारण विराटनगरका व्यापारिक प्रतिष्ठानहरू खुल्न सकेका छैनन् । निजी विद्यालय सञ्चालकहरूले विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै सोमबार नै मङ्गलबारका लागि बिदा दिने निर्णय गरेका थिए ।
यता, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्मको सडकखण्डमा प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीले विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध पारेका छन्, जसका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काले देवानगन्ज क्षेत्रको अवस्था बिस्तारै सामान्य बन्दै गए पनि राजमार्ग क्षेत्रमा भने प्रदर्शनकारीको अवरोध कायमै रहेको जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन उक्त क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै सुनसरीका तीन स्थानीय तहले साम्प्रदायिक सद्भाव र शान्ति कायम राख्न सर्वसाधारणमा अपिल गरेका छन् । हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले घटनाको शोकमा आज मङ्गलबार पालिकाभरि सार्वजनिक बिदा दिएका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा र शैक्षिक संस्थाहरू बन्द रहने जानकारी दिनुभयो ।
गत आइतबार राति देवानगन्जमा दुई समूहबीच भएको झडप र त्यसपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए । प्रशासनले सर्वसाधारणलाई संयमित रहन र स्थिति सामान्य नभएसम्म लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ ।