नेपाल प्रहरीले भोजपुरबाट थाल्यो साइबर अपराध सचेतना अभियान
भोजपुर, ३० फागुन । नेपाल प्रहरीले भोजपुरबाट साइबर अपराधसम्बन्धी सचेतना अभियानको थालनी गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले अभियानको शुभारम्भ गर्नुभयो ।
केन्द्रीय प्रहरी प्रवक्ता ढकालले सामाजिक सञ्जाल सचेत भइ प्रयोग नगर्दा साइबर अपराधका घटना बढेको भन्दै प्रविधिको सही उपयोग गर्न आग्रह गर्ने उद्देश्यले भोजपुरदेखि अभियान शुभारम्भ गरिएको बताउनुभयो ।
अभियानअन्तर्गत आगामी तीन महिनासम्म विद्यार्थी, नागरिक, शिक्षकलाई सामाजिक सञ्जालको दुरुपयोगबाट हुनेसक्ने साइबर अपराधबारे जानकारी र सचेतना गराइने छ । “गाउँगाउँमा सचेतना जगाउन भोजपुरबाट जिल्लाव्यापी अभियान सुरु भएको छ, क्रमिकरुपमा यो अभियान अन्य जिल्लामा पनि बिस्तार हुनेछ”, उहाँले भन्नुभयो । सामाजिक सञ्चालको सही प्रयोग हुनसके आपाराधिक गतिविधि कम गर्नमा मद्दत मिल्ने उहाँको भनाइ थियो । भोजपुरका नौ वटै स्थानीय तहका ८२ स्थानमा १० हजार नागरिकलाई अभियानमार्फत यसबारे जानकारी गराइनेछ ।
अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविबाट अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमख प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले जानकारी दिनुभयो । उहाँले प्रविधिको विकाससँगै साइबर अपराध बढेकाले सचेतना अभियान सुरु गरिएको बताउनुभयो ।
साइबर अपराध कम गर्न लागि सबै सचेत रहन जरुरी रहेको कोशी प्रदेश प्रहरी प्रमुख खापुङले बताउनुभयो । प्रहरीले सुरु गरेको अभियानले सामाजिक सञ्चाल दुरुपयोग कम गर्न पनि सहयोग प्राप्त हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । जिल्लाको अरुण गाउँपालिकाबाट सुरु अभियान सम्बन्धित क्षेत्रका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायतमार्फत सञ्चालन हुनेछ ।
विद्यालयस्तरबाट सुरु अभियानले समुदायलाई पनि सचेत गराउने अरुण गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा अध्ययरत विद्यार्थी, शिक्षक र नागरिकलाई मध्यनजर गर्दे प्रहरीले सुरु गरेको अभियान प्रभावकारी देखिन्छ ।”