नेप्सेमा सामान्य करेक्सन

काठमाडाैं, ३० फागुन । नेप्सेमा आज सामान्य करेक्सन देखिएको छ। पछिल्ला चार कारोबार दिनदेखि उकालो लागिरहको नेप्से, यस दिन सामान्य अंक घटेको हो।

बुधबार नेप्से परिसूचक २.४८ अंक घटेर २१०८.७२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४८ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ७३ हजार ५०६ पटकको कारोबारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन विन नेपाल लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य ९५ रुपैयाँ ५० पैसा बढेर १ हजार ५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन उन्नती सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन अप्पर तामाकोशीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत बढेको छ।