नेप्सेमा एकल अंककाे गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडाैं, ६ चैत्र । नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा पुगेकाे छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ६३ हजार ८०१ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७.०८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको करिब १९ करोडको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत बढेको हो। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।