नौमती बाजा बजाउन सिक्दै बागलुङका आमाहरू

बागलुङ, १३ चैत । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् ।

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताउनुभयो ।

विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उहाँले बताउनुभयो। “आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ, अहिले देउरालीचोक आमा समूहअन्तर्गत अधिकांश आदिवासी, जनजाति समूहका ५० महिला सङ्गठित छौँ, पहिलो चरणमा १२ जना महिला नौमती बाजा बजाउन सिकिरहनुभएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “बागलुङ नगरपालिकाले प्रदान गरेको रु एक लाख ५० हजारबाट नौमती बाजा खरिद गरी बाजा बजाउन सिकिरहेका छौँ, रु ५० हजार सिक्ने खर्च हो भने रु एक लाखमा बाजा खरिद गरेका छौँ ।”

चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उहाँ बताउनुहुन्छ । कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *