भारतमा आएकाे आँधीबेहरी र वर्षाका कारण १४ जनाको मृत्यु

काठमाडौं, १ वैशाख । भारत महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् ।

आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको भारतीय सञ्चारमाध्यमले जनाएकाे हो ।

मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो ।

त्यहाँ हुरीबतास र वर्षाका कारण इन्धन स्टेसनमा शरण लिइरहेको अवस्थामा उक्त दुर्घटना हुदाँ ठूलो सङ्ख्यामा मानिसहरुको ज्यान गएको छ ।

स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले विज्ञापन बोर्डको मुनिबाट मानिसहरूको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए ।

सोमबार साँझ मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरी मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।