इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि
काठमाडाैं, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ ।
इरानको पूर्वी अजरबैजान प्रान्तमा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री अमिराब्दुल्लाहियानको मृत्यु भएको पुष्टि भएको हो ।
हेलिकोप्टर दुर्घटनामा कोही पनि जिवित फेला नपरेको त्यहाको सरकारी टेलिभिजनले पुष्टि गरेको छ।
इरानी राष्ट्रपति चढेकाे हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो । सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटनामा परेको हो ।
मौसम र भौगोलिक जटिलताका कारण खोज र उद्धार टोली दुर्घटनास्थल सम्म पुग्न निकै सकस परेको त्यहाको सरकारी टेलिभिजनले जनाएकाे छ ।
दुर्घटनास्थल राजधानी तेहरानबाट ६०० किलोमिटर टाढा पर्छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न विभिन्न ४० टोली खटाइएको थियो । दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ ।
६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।
समाचार एजेन्सी एपीका अनुसार राष्ट्रपति हेलिकोप्टरमा ९ जना सवार थिए । हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख र उच्च अधिकारीहरूलगाएतका सवार थिए।
उनको मृत्यु भएसँगै इरानका उपराष्ट्रपति मुहमद मुखबरले राष्ट्रपतिको कार्यभार सम्हालेका छन् ।
