पशुपतिनाथ मन्दिरको भेटी चोरेर पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष सुवेदीलाई बुझाउँथे भेटी
काठमाडौं, ८ जेठ । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीहरूले चाेरेकाे भेटी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई बुझाउने गरेकाे बताएका छन् ।
चोरीमा संलग्न कर्मचारीहरूले कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको दाबी गरेका हुन् ।
पशुपतिनाथ मन्दिरको भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको थियो । कोषको सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेका छन् ।
पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन् । उनले परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म चाेर्ने गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।
कोषाध्यक्ष सुवेदीले भने भेटी चोरीको विषय आफूलाई थाहै नभएको बताए ।