कीर्तिमानी सङ्गीतकार, गायक सन्तोष श्रेष्ठको एकल गजलले गुञ्जियाे सर्वनाम  

काठमाडाैं, २० जेठ । कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले एकल गजल गायन गर्नुभएकाे छ ।

काठमाडाैंकाे कालिकास्थानस्थित सर्वनाम थिएटरमा कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठकाे आफ्नै सङ्गीतमा एकल गजल गायन सम्पन्न भएकाे हाे ।

गजलकार धनेन्द्र ओझा र राधा कणेलकाका शब्द रहेकाे गजल गायनमा गायक सन्तोषकाे स्वरले गजलप्रेमीहरू मन्त्रमुग्ध हुनुभएकाे थियाे ।

एकल ‘गजल गायन’ कार्यक्रम आयोजक गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चकाे सहकार्यमा गरिएकाे थियाे ।

गजलकार धनेन्द्र ओझाका तीनवटा गजल र राधा कणेलका दुईवटा गजल कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठकाे सुमधुर सङ्गीतमा उहाँकै कर्णप्रिय स्वरमा सर्वनाम थिएटर गुञ्जायमान भएकाे थियाे ।

‘गजल गायन’ कार्यक्रममा नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञाप्रतिष्ठान ,कलरक्राफ्ट, अनाममण्डली, आधुनिक नेपाली गजल अभियान, उत्सव, शब्दघर, जरुवा, माहुरी, मध्यपश्चिमाञ्चल साहित्य परिषद्, राप्ती समाज काठमाडौँ, राप्ती साहित्य परिषद्, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, काव्यालय, गोधूलि साहित्य प्रतिष्टान, गजल अभियान दाङ, दियालो साहित्य सरगमकाे साथ थियाे ।

‘गजल गायन’ कार्यक्रममा वाद्यवादनमा तबलामा रमेश डङ्गोल, गितारमा राजकुमार समाल, बाँसुरीमा धनबहादुर गुरुङ र सारङ्गीमा खुम के.सी.ले साथ दिएका थिए ।

कार्यक्रममा अग्रज साहित्यकार डा. भोजराज घिमिरे, साहित्यकार प्रोल्लास सिन्धुलीय, गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, प्रकाश समीर गजलकार बाबु त्रिपाठी, अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार, आधुनिक नेपाली गजल अभियानका अध्यक्ष विपीन सलामीलगाएतका उपस्थित हुनुभएकाे थियाे ।

कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठकाे सङ्गीत र गजलकार धनेन्द्र ओझाकाे गजल एल्बम ‘शुभेच्छा’माथि बरिष्ठ सङ्गीतकार राजु सिंहले चर्चा गर्नुभएकाे थियाे ।