अनागारिका जीवन त्याग मात्र होइन, समाजमा शान्ति र करुणा फैलाउने मार्ग हो : अनागारिका पदुमा

कलिलै उमेरदेखि भिक्षुणी जीवन अँगाल्दै आउनुभएकी २८  वर्षीया अनागारिका पदुमा  अहिले बुद्ध शिक्षाको प्रचार–प्रसारमा सक्रिय हुनुहुन्छ। जातक कथामार्फत बुद्धका उपदेशलाई सरल र रोचक ढंगले प्रस्तुत गर्दै उहाँले उपासक–उपासिकालाई जीवनका दुःख र समस्यासँग जुध्ने प्रेरणा प्रदान गर्दै आउनुभएको छ। हाल विद्यावारिधिको तयारीमा रहनुभएकी उहाँ समाजमा शान्ति, मैत्री र करुणा फैलाउन तथा युवापुस्तालाई बुद्ध शिक्षासँग जोड्न क्रियाशील हुनुहुन्छ। उहाँसँग मैत्री न्यूजका तर्फबाट बौद्ध विद्धान डा. अजय क्रान्ति शाक्यले  गर्नुभएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ :

तपाईंले कुन उमेरदेखि गृहत्याग गर्नुभयो र किन अनागारिका बन्नु  भएको हो ?

म बाल्यावस्थादेखि नै बुद्धशिक्षाप्रति रुचि राख्दै आएकी थिएँ। मेरी हजुरआमा स्वर्गीय श्रीमाया महर्जनले हात समाएर मलाई बलम्बुस्थित प्रणिधिपूर्ण महाविहारमा लैजानुहुन्थ्यो। हरेक शनिबार परियत्ति शिक्षा पढ्ने र विहारमा सरसफाइ कार्यक्रममा सहभागी हुने अवसर पाउँथेँ। श्रद्धेय भिक्षु तथा अनागारिकाहरूको सत्सङ्गत र उहाँहरूको जीवनशैलीबाट प्रभावित भई प्रव्रजित हुने इच्छा जाग्यो। सोही अनुरूप २०७२ साउन १३ गते सत्र वर्षको उमेरमा श्रामणेरी (ऋषिनी) प्रव्रजित भएँ र २०७३ असार ११ गते स्थायी रूपमा अनागारिका भएँ। मेरो लागि अनागारिका हुनु भनेको गृहत्याग गर्नु मात्र होइन, आत्मिक विकास गर्नु, बुद्धका शिक्षालाई गहन अध्ययन गर्नु, आफूले सिकेका शिक्षा अरूलाई पनि सिकाउनु र समग्रमा सबैको हित र कल्याणका लागि आफ्नो जीवन समर्पित गर्नु पनि हो।
आजकल तपाईं आफ्नो दिनचर्या कसरी बिताउनुहुन्छ ?

मुख्यतयाः मेरो दिनचर्या बुद्धका शिक्षाको अध्ययन, ध्यान भावना, धार्मिक क्रियाकलाप, शैक्षिक अध्ययन र सामाजिक गतिविधिमै बित्ने गर्छ। मेरो दिनको सुरुवात ध्यान अभ्यासबाट हुन्छ। त्यसपछि लगत्तै शारीरिक व्यायाम, नित्यकर्म तथा विहारको सरसफाइजस्ता कार्यहरू गर्छु। दैनिक समयतालिका अनुसार बौद्ध दर्शनको अध्ययन, लेखन र अन्य शैक्षिक कार्यहरूमा संलग्न हुन्छु। त्यसैगरी समयानुसार प्रत्यक्ष तथा अनलाइन माध्यमबाट धर्मदेशना पनि गर्छु। समग्रमा भन्नुपर्दा, मेरो दिनचर्या शील, समाधि र प्रज्ञाको विकासका साथै व्यक्तिगत तथा सामाजिक कल्याणका कार्यमा केन्द्रित छ।
अनागारिका र सामान्य मानिसको जीवनमा कस्तो फरक पाउनुहुन्छ ?

मैले अनुभव गरेअनुसार अनागारिका र गृहस्थ जीवनबीचको मुख्य भिन्नता बाहिरी भेषभूषामा मात्र होइन, जीवनको उद्देश्य, जिम्मेवारी, स्वतन्त्रता र प्राथमिकतामा पनि देखिन्छ। अनागारिकाको जीवन भनेको त्रिपिटकको अध्ययन गर्ने, ध्यान अभ्यासद्वारा आफूभित्रका क्लेश हटाउने, दुःखमा परेका मानिसलाई सहानुभूति दिने वा सक्दो सहयोग गर्ने, धर्मदेशना गरी मानिसलाई बुद्धको शिक्षा सिकाउने, समाजको हित र कल्याण हुने कार्य गर्ने तथा आध्यात्मिक विकासमा विशेष जोड दिने जीवन हो। त्यसैगरी गृहस्थ जीवनमा आफ्नो परिवार, पेशा, आर्थिक व्यवस्थापन तथा परिवार र समाजमा निर्वाह गर्नुपर्ने विभिन्न रीतिरिवाजका कर्तव्य पूरा गर्नुपर्ने हुन्छ। तर यसको अर्थ गृहस्थ जीवन आध्यात्मिक विकासका लागि अनुपयुक्त छ भन्ने होइन। भगवान् बुद्धले चतुःपरिषद् (अर्थात् प्रव्रजित र गृहस्थ) को महत्त्वबारे उल्लेख गर्नुभएअनुसार गृहस्थ र प्रव्रजित समाजका दुई पक्ष हुन्। यसरी प्रव्रजित र गृहस्थको जीवनशैली र जिम्मेवारीमा भिन्नता देखिए तापनि आध्यात्मिक विकासका लागि दुवै उत्तिकै महत्त्वपूर्ण हुन सक्छन्।

तपाईंले मानिसहरूमा बुद्ध शिक्षाको प्रचार–प्रसार कसरी गरिरहनुभएको छ ?

भगवान् बुद्धका उपदेश अत्यन्तै गहन, व्यावहारिक र कल्याणकारी छन्। ती अमूल्य शिक्षा आफूले पढेर, बुझेर आफैँमा मात्र सीमित नराखी मानिसलाई पनि सुनाउँदै र बुझाउँदै आइरहेकी छु। समयअनुसार बुद्धका शिक्षाको प्रचारप्रसार गर्ने माध्यम पनि परिवर्तन हुँदै गएको महसुस हुन्छ। धार्मिक प्रवचन, ध्यान अभ्यास तथा विभिन्न सामाजिक कार्य गर्ने क्रममा डिजिटल युगमा फेसबुक, युट्युब, जुम जस्ता सञ्चार माध्यम प्रयोग गर्दै आएकी छु। त्यस्तै लेख प्रकाशन गरेर पनि मानिससमक्ष बुद्धका शिक्षा पुर्‍याउने काम गर्दै आइरहेकी छु। मेरो स्वअनुभवमा बुद्धका शिक्षालाई बौद्ध धर्मावलम्बीका लागि मात्र धार्मिक दृष्टिले नहेरी अन्य धर्म मान्ने मानिसलाई पनि स्वाभाविक धर्मका बारेमा जानकारी दिन बोलेर होस् वा लेखेर प्रचारप्रसार गर्दै आइरहेकी छु।

बौद्ध शिक्षा निकै बृहत् छ भनिन्छ। ती शिक्षामध्ये तपाईंलाई सबैभन्दा मनपर्ने शिक्षा कुन हो ?

बौद्धदर्शन बृहत् तथा सत्यमा आधारित छ। अनभिज्ञ मानिसले बौद्ध धर्मलाई निराशावादी धर्म हो भनेर पनि बुझ्दै आएका छन्, किनकि यहाँ जहिले पनि दुःखको कुरा मात्र हुन्छ भन्ने उनीहरूको धारणा छ। तर वास्तवमा बुद्धले सम्पूर्ण मानिसको जीवनमा आइपर्ने दुःख, दुःखको कारण, दुःखको निरोध र निरोधको मार्गबारे बताउनुभएको हो। बौद्धदर्शनका मूल शिक्षा चतुरार्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, त्रिलक्षण र प्रतीत्यसमुत्पाद हुन्, जसलाई वैज्ञानिक, स्वाभाविक तथा व्यावहारिक दृष्टिले पनि नकार्न सकिँदैन। यी मूल उपदेशलाई बुझ्न सकेको खण्डमा संसारमा हिंसा, विरोध, अशान्ति र लडाइँजस्ता घटना सिर्जना हुनुपर्दैन। साथै उहाँले दिनुभएको उपदेश, जुन धम्मपदको गाथामा उल्लेख छ— “अत्त दीपो भव” अर्थात् आफ्नो दीप आफैँ बनौँ। यो शिक्षाले पनि स्पष्ट पार्छ कि बुद्धका शिक्षा भनेको सर्वप्रथम शिक्षा पालन गरी आफूमा सकारात्मक परिवर्तन ल्याउने र उदाहरण बनेर समाजमा प्रस्तुत हुने कुरा हो।

सामान्य मानिसले व्यवहारिक रूपमा बुद्ध शिक्षालाई कसरी पालना गर्न सक्छ ?

बुद्धशिक्षा पालना गर्न गृहत्याग नै गर्नुपर्छ भन्ने बाध्यता छैन। गृहस्थमै बसेर पनि बुद्धशिक्षालाई व्यवहारमा उतार्न सकिन्छ। यसका लागि भगवान् बुद्धले सर्वप्रथम गृहस्थले पालना गर्नुपर्ने शिक्षाका बारेमा बताउनुभएको छ, जसलाई पञ्चशील भनिन्छ। यो शील पालना गर्नु नै सुखी जीवनको आधार हो। पञ्चशील भन्नाले प्राणीहिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुटो नबोल्नु र मादक पदार्थ सेवन नगर्नु हो। त्यसैगरी दैनिक जीवनमा मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना विकास गर्नुपर्छ। अरूको दुःख बुझ्ने, दया र माया गर्ने, अरूको सफलतामा खुसी हुने र जुनसुकै परिस्थितिमा पनि आफ्नो मन सन्तुलित राख्ने बानी बसाल्नुपर्छ। हरेक अवस्थामा सम्यक् स्मृति प्रयोग गरेर कार्य गर्न सकेमा सफलता हासिल गर्न सकिन्छ।

तपाईंको दृष्टिकोणमा ध्यान र प्रज्ञामध्ये कुन बढी महत्त्वपूर्ण छरु यी दुवैलाई दैनिक जीवनमा कसरी अभ्यास गर्नुपर्छ ?

मेरो विचारमा ध्यान र प्रज्ञा बौद्ध दर्शनमा एकअर्काका परिपूरक हुन्। ध्यानले चित्तको एकाग्रता र स्थिरता विकास गर्न सहयोग गर्छ। प्रज्ञाले कुनै पनि घटना वा वस्तुलाई यथार्थ रूपमा बुझ्न मद्दत गर्छ। यी दुईमध्ये कुनलाई बढी महत्त्व दिने भनेर छुट्याउन सकिँदैन। प्रज्ञा र ध्यान सँगसँगै अघि बढ्नुपर्छ। ध्यान अभ्यास गर्न प्रज्ञाको आवश्यकता पर्छ भने प्रज्ञाको विकासका लागि ध्यान महत्त्वपूर्ण हुन्छ। हरेक अवस्थामा सजग भएर दैनिक कार्य गरेमा मात्र कार्य सफल हुन्छ। केवल चकटीमा बसेर ध्यान अभ्यास गरेर मात्र प्रज्ञा वृद्धि हुँदैन। व्यावहारिक जीवनमा पनि अनित्य, दुःख र अनात्मलाई बोध गर्नुपर्छ। त्यसैले ध्यान र प्रज्ञा दुवै अत्यन्तै महत्त्वपूर्ण छन्।

ध्यान र प्रज्ञा कुनै धार्मिक स्थल, विहार वा ध्यान केन्द्रमा मात्र सीमित नराखी त्यहाँबाट सिकेको ज्ञानलाई व्यावहारिक समाजमा लागू गर्नुपर्छ। खाँदा, वस्त्र लगाउँदा, हिँड्दा, सुत्दा अथवा कुनै कार्य गर्दा सजगता राखेर गर्नुपर्छ।

नेपाली समाजमा अनागारिका भएर बाँच्न कत्तिको सहज छ? तपाईंले आफ्नो जीवनमा कस्ता कठिनाइहरू भोग्नुभएको छ?

मेरो अनुभवमा नेपाली समाजमा अनागारिका भएर जीवन बिताउन त्यति कठिन छैन। नेपाल आफैँ बुद्धको जन्मभूमि हो र यहाँ बौद्ध धर्म तथा बुद्ध शिक्षाप्रति श्रद्धा राख्ने मानिसहरूको संख्या पनि ठूलो छ। श्रद्धालु उपासक–उपासिकाले हामीलाई देख्नेबित्तिकै श्रद्धापूर्वक शिर निहुराउने गर्नुहुन्छ। आवश्यक पर्दा विभिन्न किसिमका सहयोग, दान, सेवा तथा हेरचाहसमेत गर्दै आउनुभएको छ। त्यसैले समाजबाट प्राप्त हुने माया, सम्मान र सहयोगले अनागारिका जीवनलाई सहज बनाउन ठूलो भूमिका खेलेको छ।

तर सहजतासँगै केही चुनौतीहरू पनि छन्। कतिपय मानिसलाई अनागारिका भनेका को हुन्, उनीहरूको जीवनपद्धति कस्तो हुन्छ, उनीहरूले किन गृहत्याग गर्छन् र समाजमा उनीहरूको भूमिका के हो भन्नेबारे पर्याप्त जानकारी छैन। यसले अनागारिकाको पहिचान र जीवनशैलीबारे समाजमा अझै जानकारी र जनचेतना आवश्यक रहेको देखाउँछ।

बौद्ध शिक्षाको मूल भावना नै त्याग, शील, समाधि, प्रज्ञा, करुणा र मैत्री हो। अनागारिका जीवन पनि यही अभ्यासतर्फ उन्मुख हुने जीवन हो। गृहत्याग गर्नु भनेको परिवार वा समाज त्याग्नु  मात्र होइन; आफ्नो लोभ, मोह, अहंकार, द्वेष र आसक्तिलाई क्रमशः त्याग्दै आफूलाई शुद्ध बनाउने प्रयास हो। बुद्धले सिकाउनुभएको दुःखको कारण पहिचान गरी त्यसबाट मुक्त हुने मार्गमा हिँड्नु नै यस जीवनको मुख्य उद्देश्य हो। त्यसैले अनागारिका जीवनलाई व्यक्तिगत सुख–सुविधा त्यागेर समाजका लागि पनि केही योगदान गर्ने अवसरका रूपमा लिन्छु।

हामीले आफू मात्र राम्रो जीवन बिताउने होइन, बुद्धका शिक्षालाई व्यवहारमा उतारेर अरूलाई पनि सकारात्मक बाटो देखाउन सक्नुपर्छ। मानिसलाई शान्ति, करुणा, मैत्री, सदाचार र आत्मअनुशासनको महत्त्व बुझाउन सकेमा समाजमा धेरै सकारात्मक परिवर्तन आउन सक्छ। आजको समयमा मानिसहरू बाहिरी सुख–सुविधा र भौतिक उपलब्धिको पछि दौडिरहेका छन्, तर मनमा शान्ति नहुँदा ती उपलब्धिले मात्र जीवन पूर्ण बनाउन सक्दैनन्। त्यसैले बुद्ध शिक्षाले सिकाउने सन्तोष, सजगता, मैत्री, करुणा र ध्यान आजको समाजका लागि अझ बढी आवश्यक छ।

त्यसैगरी, विहारमा युवा पुस्ताको आगमनमा कमी हुनु र धर्मदेशना सुन्न आउने उपासक–उपासिकामा ज्येष्ठ नागरिकको मात्र बाहुल्य हुनु पनि एउटा चुनौती हो। बौद्ध धर्म केवल वृद्धावस्थामा सम्झने विषय होइन; यो जीवन जिउने सही कला सिकाउने व्यवहारिक दर्शन हो। युवा अवस्थामा नै शील, ध्यान, प्रज्ञा, अनुशासन र करुणाको अभ्यास गर्न सकेमा व्यक्ति आफ्नो व्यक्तिगत जीवनमा मात्र होइन, परिवार, समाज र राष्ट्रका लागि पनि जिम्मेवार र असल नागरिक बन्न सक्छ।

त्यसैले युवा पुस्तालाई बौद्ध धर्मप्रति आकर्षित गर्न उनीहरूलाई केवल धार्मिक कर्मकाण्डमा सीमित नराखी बुद्धका शिक्षालाई दैनिक जीवनसँग जोडेर बुझाउनुपर्छ। तनाव कसरी व्यवस्थापन गर्ने, रिस र द्वेषलाई कसरी नियन्त्रण गर्ने, सम्बन्धमा मैत्री र करुणा कसरी विकास गर्ने, गलत बाटोबाट कसरी जोगिने र जीवनमा उद्देश्य कसरी खोज्ने भन्ने विषयमा बुद्धका शिक्षालाई व्यवहारिक रूपमा प्रस्तुत गर्न सकिन्छ।

मेरो विचारमा अनागारिका जीवन व्यक्तिगत मुक्ति खोज्ने मात्र बाटो होइन, आफूलाई रूपान्तरण गर्दै समाजमा शान्ति, करुणा र सद्भाव फैलाउने माध्यम पनि हो। समाजले अनागारिका, भिक्षु, उपासक–उपासिका सबैलाई एउटै बौद्ध परिवारका सदस्यका रूपमा हेर्न सक्नुपर्छ। त्यस्तै, हामी अनागारिकाहरूले पनि समाजबाट प्राप्त सम्मान र सहयोगलाई जिम्मेवारीका रूपमा ग्रहण गर्दै आफ्नो आचरण, सेवा र धर्म अभ्यासबाट समाजलाई सकारात्मक सन्देश दिन सक्नुपर्छ।

अन्ततः बुद्धले देखाउनुभएको मार्ग कुनै एक वर्ग वा उमेर समूहका लागि मात्र होइन। जो कोहीले आफ्नो जीवनमा लोभ घटाउन, द्वेष त्याग्न, मोहबाट मुक्त हुन, सत्य बोल्न, करुणा बढाउन र आफ्नो मनलाई शान्त बनाउन प्रयास गर्छ, उसले बुद्ध शिक्षाको अभ्यास गरिरहेको हुन्छ। यही सन्देश समाजमा फैलाउन सकियो भने अनागारिका जीवनप्रतिको बुझाइ पनि अझ व्यापक हुनेछ र युवा पुस्तासमेत बुद्ध शिक्षातर्फ आकर्षित हुने विश्वास लिएको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *