नेप्से सामान्य अंक बढ्यो

काठमाडाैं, २२ जेठ । नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ६.२२ अंक बढेर २०८५.३० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५३ हजार ९९९ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको ८३ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १३१ रुपैयाँ ५० पैसा बढेर १ हजार ४४६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको हाे । त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ।